Logo

संसद्मा माओवादी र राप्रपाको जुहारीमा कांग्रेस सांसदको रोचक प्रवेश



काठमाडौं,१३ फागुन । प्रतिनिधि सभाको बैठक जारी छ । आइतबार बसिरहेको बैठकमा विभिन्न विषयमा सांसदहरुले आ-आफ्नो विषयमा धारणा राखिरहेका छन् ।

आजको बैठकमा सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा र प्रतिपक्षी दल राप्रपाका युवा नेता ज्ञानेन्द्र शाहीबीच जुहारी चलेको छ । शुक्रबारको बैठकमा सांसद सापकोटाले आफ्नो राजीनामा मागेको भन्दै सांसद शाहीले आज उनलाई जवाफ फकाएका थिए । सांसद शाही र सापकोटाबीच केहीबेर जुहारी चलिरहँदा सत्ता साझेदार दल नेपाली कांग्रेसा सांसद सुनिल शर्मासमेत प्रवेश गरेपछि केहीबेर माहोल थप तातेको थियो ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठक र आज बसेको बैठकमा पनि माओवादी केन्द्रका सांसद सापकोटाले व्यवस्था विरोधीहरु सचेत रहनु भन्दै कडा शव्दमा अभिव्यक्ति दिएका थिए । सापकोटाले राप्रपाले दैद्य चरित्र देखाएको टिप्पणी गरेका थिए । उनले पाईहाले मन्त्री र सभामुख पड्काउने अनि सरकारले र यो व्यवस्थाको विरोध गर्ने भन्दै चर्को आलोचना गरेका थिए ।

‘पाइहाल्दा मन्त्री पनि हुने, यही संसद्को लोगो लगाएर भएभरका सम्पूर्ण सेवा सुविधासमेत लिने, तर फेरि यही व्यवस्थाको विरोध गर्ने । यो कति नैतिक छ ? यो व्यवस्थाको विकल्प यो भन्दा उन्नत प्रकारको र यो व्यवस्थाभित्र रहेका सीमा र कमजोरीहरुका बारेमा यो संसद्मा गज्जबले बहस गर्न सकिन्छ । तर, यो व्यवस्थाका बारेमा संविधानभन्दा माथि गएर, संविधानलाई ध्वंस गर्ने गरी बहस गर्ने अधिकार कसैलाई छैन,’– उनले भनेका थिए ।

सांसद सापकोटाको अभिव्यक्तिपछि बोलेका शाहीले माओवादीलाई काउण्टर दिँदै आफू कुनैपछि मानिसको टाउको काटेर नआएको र कुनैपनि बालवालिकाको हत्या नगरेको भन्दै पदबार राजीनामा माग्ने छुट सापकोटालाई नभएको जिकिर गरे । सापकोटालाई संविधान पढेर आउन आग्रह गर्दै शाहीले पढ्न नजानेमा आफूसँग सिक्न आउनसमेत चुनौती दिए ।

उनले भने, ‘यो व्यवस्था अपरिवर्तनीय होइन । कसैसँग विचार मिल्दैन भन्दैमा अमुक मान्छेले राजीनामा माग्न पाइँदैन । ज्ञान छैन भने संविधान पढ्ने, पढ्न आउँदैन भने हामीसित सिकाइ माग्नुपर्‍यो ।’

नेपालको संविधानको धारा १०३ ले संविधानभित्रका कुनै पनि सांसदले वाक स्वतन्त्रता र बोल्न पाउने अधिकार सुनिश्चित गरेको शाहीले उल्लेख गरे ।

‘म जन निर्वाचित सांसद हुँ । गोबर र आलुको गठबन्धनलाई हराएर आएको हो । जुम्लाका जनताले आशीर्वाद दिएर पठाएका हुन् । मैले राजीनामा किन दिने ? म ८–९ वर्षका बच्चा बच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेका बसमा बम हानेर आएको हो ? जातजाति र धर्मका नाममा हिंसा गरेको छु ?’ उनले प्रश्न गरे ।

शाहीले माओवादीले मान्छे मारेर आएको भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए । सभाको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले बोल्ने समय दिएपछि पाण्डेले भने ‘अहिले जसरी यहाँ मान्छे मारेर आएको भन्ने शव्द प्रयोग भएको छ । त्यसमा मेरो नियमापत्ति छ’ ।

पाण्डेले नियमापत्ति जनाइरहँदा सत्तापक्षकै अर्का सांसद सुनिल शर्माले उठेर हात उठाए। उनलाई सभामुख इन्दिरा रानाले समय दिइन्।

सांसद शर्माले एउटा सांसद बोल्दैगर्दा अर्को सांसद तुरुन्तै बोल्न नपाइने भन्दै आफ्नो नियमापत्ति रहेको जनाए।

‘एउटा सांसद बोलिरहँदा राज्यपक्षमा बसेको सांसदले तुरुन्त नियमापत्ति, म एरेस्ट भएर आउँदा पनि यस्तै गर्नुभएको थियो। अहिले पनि यस्तै गर्नुभएको छ। यो गर्न पाइँदैन,’ उनले भने।

सांसद शर्मा केही महिनाअघि नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका थिए । सरकारले बिना कारण आफूलाई पक्राउ गरेको भन्दै उनले त्यसपछि सरकारको निरन्तर विरोध गर्दै आईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्