Logo

ओठे जवाफ दिएर उन्मुक्ति पाईदैन्, तीन मन्त्रीलाई तत्काल बर्खास्त गरियोस्: गोकुल बाँस्कोटा



काठमाडौं,१४ फागुन । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले विवादमा परेका ३ मन्त्रीलाई तत्काल बर्खास्त गर्न पुनः माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व मन्त्री बाँस्कोटाले विभिन्न विवादमा मुछिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, संस्कृति मन्त्री सुदन किराँती र स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

उनले भने ‘दिनदिनै नयाँ घटनाक्रम आइरहेका छन् । पुरा विवादका कारण स्वास्थ्यमन्त्री दिनदिनै अख्तियारमा जानु परेको छ । पद छोड्न किन यस्तो भईरहेको छ । बहादुरले गोली लुकाउँछ कायरले घडी लुकाउँछ भन्दै मन्त्री हिडिरहँछन् । सांसदहरुले प्रश्न उठाउँदा ओठे जवाफ दिएर उन्मुक्ति पाईदैन् सुशासनको मानक यो हुन सक्दैन । सरकार किसानको पक्षमा कहिले उभिन्छ ?’ ।

उनले बालकुमारी घटनामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नैतिक जिम्मेवारी भएको जिकिर गरे। विवादित मन्त्री हटाउने विषयमा एमालेले आजसम्मको अल्टिमेटम दिएको थियो। राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्ता गर्नुपर्ने भन्दै जवाफ माग गरे ।

उनले भने, ’प्रतिपक्षलाई दोष देखाएर गठबन्धनको झण्डा हल्याएर मुलुकमा सुशासन आउछ ? सभामुखबाट स्पष्ट रुलिङ चाहिन्छ। हाम्रो आन्दोलन जारी छ । अब कुराको सुन्दरता होइन । व्यवहारको प्रष्टता चाहियो । एक्सन चाहियो। उहाँले ती मन्त्रीलाई हटाउनुपर्छ । सरकार नाजवाफ बस्न मिल्दैन ।’



प्रतिक्रिया दिनुहोस्