Logo

आरोप लागेपछि मन्त्रीले पदमा बसेर नैतिकताको फलाको हाल्न मिल्दैनः गोकुल बास्कोटा



काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सार्वजनिक पदमा बसेको मान्छेमाथि आरोप लागेपछि उनले नैतिकताको फलाको हालेर हिँड्न नमिल्ने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूमाथि आरोप लागेपछि मन्त्रीलाई पद छोड्न के–ले रोक्यो ? भन्दै प्रश्न गरे ।

‘सार्वजनिक पदमा बस्ने मान्छेहरुका बारेमा गम्भीर ढंगले प्रश्न उठिसकेपछि पद छोड्न के–ले रोकेको छ ? पदमा बसेर नैतिकताको फलाको हालेर हिँड्न मिल्दैन । उहाँहरुले पद छोड्नुपर्छ । चाहे गृहमन्त्री होस्, चाहे भौतिक मन्त्री होस्, चाहे संस्कृति मन्त्री होस्,’– उनले भने ।

सामन्तवादको अवशेषलाई बोकेर समाजवादको कुरा गर्न नमिल्ने उनको भनाइ छ । उनले मन्त्रीसँग जवाफ माग्दा ‘बहादुरले गोली लुकाउँछ, कायरले घडी लुकाउँछ’ भन्ने जवाफ आएको भन्दै आपत्ति जनाए । उनले मिटरब्याजीहरुको समस्यामा गृह मन्त्रालय के गरेर बसेको छ भनी प्रश्नसमेत गरे ।

‘लुम्बिनीमा बुद्ध धर्मको केन्द्रको आस्थामाथि खुलेआम त्यही भएको छ । मैले विहानमात्रै सुनेँ– बहादुरले गोली लुकाउँछ, कायरले घडी लुकाउँछ । मन्त्रीको भनाइ । कसलाई भनेको ? सांसदहरुले प्रश्न उठाउँदा खेरी जवाफ दिने ठाउँमा ओठे जवाफ फर्काएर उन्मुक्ति पाइँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्