Logo

वरिष्ठ उपाध्यक्षसहित १० जनाकोे बहिष्कारबिच एन्फाको साधारण सभा सम्पन्न



काठमाडौं । अखिल नेपाल फुटवल महासंघ (एन्फा) को साधारण सभामा सम्पन्न भएको छ । सोमबार काठमाडौंमा एन्फाको नियमित साधारण सभा सम्पन्न भएको हो ।

आजको सभा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १० जनाले बहिष्कार गरेका छन् । कार्यसमितिले प्रस्तुत गरेको विषयवस्तुमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष खड्कासहित २ उपाध्यक्ष र ७ सदस्यले साधारणसभा बहिष्कार गरेका हुन् ।

एन्फाको कार्यसमिति २१ सदस्यीय छ । तर, नियमित साधारण सभामा कार्यसमितिका बहुसङ्ख्यक सदस्य अनुपस्थित भएका हुन् । पंकजबिक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएयता पहिलो पटक बोलाइएको एन्फाको नियमित साधारण सभाको विषयलाई लिएर कार्यसमितिका अधिकांश सदस्यहरूले नै नेतृत्वको कार्यशैलीप्रति चरम असन्तुष्टि व्यक्त गरेका छन् ।

विभिन्न विषयमा असन्तुष्टि राख्दै वरिष्ठ उपाध्यक्ष वीर वहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, दिर्घ बहादुर केसी (कुमार) तथा सदस्यहरु अनिल मल्ल, पेमा लामा, रविन्द्र चन्द, मनिश जोशी, रुपेश अधिकारी, भोजराज शाही, रमेश व्यन्जनकारले आजको साधारण सभा बहिष्कार गरेका हुन् ।

अखिल नेपाल फुटबल संघको आज तय गरिएको साधारणसभाको विषयसूची तय गर्न एन्फा मुख्यालयमा फाल्गुण ३ गते देखी ६ गतेसम्म केन्द्रिय कार्यसमिति बैठक सन्चालन भएको थियो। यस सम्बन्धमा विभिन्न बिषयमा घनिभुत छलफलहरु भएका थिए तर बहुमत सदस्यहरुको निर्णयमा असहमति रहेको असन्तुष्ट पक्षको दाबी छ ।

उक्त दिन सबै विषयमा छलफल भएतापनि निर्णयहरु नभएकको उनीहरुको भनाइ छ । ‘लेखा परीक्षण प्रतिवेदनको विषयमा कार्यसमिति बैठकमा छलफल भएको थियो । तर, प्रतिवेदनमा रहेका सम्पूर्ण कैफियतहरूको निराकरण नभएसम्म पास नगर्ने भनिएकोमा त्यसलाई सोही रूपमा साधारण सभामा पेस गरिएकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ,’ असन्तुष्ट पक्षले दर्ता गराएको निवेदनमा भनिएको छ ।

यसैगरी वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायतका असन्तुष्ट पदाधिकारीले नेतृत्वमाथि चाइना केल्मी कम्पनीलाई कालो सूचिमा राख्नु पर्नेमा उल्टै ठुलो रकम भुक्तानी गरेर आर्थिक अनियमितता गरेको आरोप पनि लगाएका छन् ।

‘चाइना केल्मी कम्पनीसँग ५१ लाख १४ हजार आठ सय ७० रुपैयाँ रकम लिनुपर्ने हुँदाहुँदै कालो सूचिमा राख्नु पर्नेमा उल्टै ६० लाख रुपैयाँ भुक्तानी गरेको र त्यो रकममा कुनै छुट नलिई कम्तीमा ३० प्रतिशत रकम भ्रष्टाचार गरिएको छ,’ आरोपत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्