Logo

आरबीबी एनभीए भलिबल च्याम्पियनसिप चैत पहिलो साता, विजेतालाई ५ लाख



काठमाडौं । नेपाल भलिबल संघको आयोजना र राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा हरेक वर्ष हुँदै आइरहेको आठौ आरविविएनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसीप आगामी चैत पहिलो साता हुने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै च्याम्पियनसिप आगामी चैत्र ३ गतेदेखि १० गते सम्म हुने जानकारी दिएको हो।

नेपालको राष्ट्रिय खेल भलिबल भएको करिव ६ वर्ष भईसक्दा पनि संघले यस खेलको विकासका लागि राष्ट्रिय वाणिज्य बैंक जस्तै विभिन्न संघ संस्था, व्याक्तिहरुसंगको सहकार्यमा भलिबल खेलको केही हदसम्म साख जोगाउन सफल भएको भलिवल संघले जनाएको छ । राष्ट्रिय खेल भइसक्दा पनि सरकारवाट यस खेलको भौतिक पूर्वधार एवं वजेट व्यवस्थापनमा ध्यान नदिएको संघको गुनासो छ ।

संघको वार्षिक कार्यक्रम अनुरुप आगामी चैत्र ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालन हुने आठौं आरविवि एनभिए महिला तथा पुरुष भलिबलमा च्याम्पियनसीप पुरुष तर्फ १२ टिम र महिला तर्फ ९ टिम गरी जम्मा २१ टिमको सहभगिता रहने छ । यस प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकबाट संघलाई अठार लाख उपलब्ध हुनेछ ।यो च्याम्पियनसिपबाट पुरुषतर्फ ८ र महिलातर्फका ६ टोलीले लिगमा स्थान बनाउनेछन्।

यस प्रतियोगितामा संघले प्रथम, द्धितिय र तृतिय हुने टिमलाई नगद क्रमश ५ लाख, २ लाख ५० हजार र १ लाख २५ हजार प्रदान गर्ने छ । भने उत्कृष्ट विधा तर्फ सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ४०-४० हजार, व्यक्तिगत विधा तर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५-१५ हजार प्राप्त गर्नेछन् ।

यस प्रतियोगिता सम्पन्न गर्न अनुमानित ५५ लाख खर्च लाग्ने छ र बाँकी रकम जुटाउन संघले अहिले पनि विभिन्न संघ संस्थासंग सहकार्य गर्ने प्रयत्न गरिहेको भलिवल संघका अध्यक्ष जिेतन्द्र बहादुर चन्दले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्