Logo

सुन तस्करी जाँचबुझ आयोगको म्याद फागुन मसान्तसम्म थप गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद फागुन मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले फागुन १६ गतेदेखि लागू हुनेगरी १५ दिन म्याद थपगर्ने निर्णय गरेको सरकारी प्रवक्ता तथा सूचना सञ्चार एवं प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६१ किलो सुन र त्यसपछि विभिन्न समयमा बरामद भएका सुन प्रकरणको छानबिन गर्न गठित समितिले आज १५ दिन समय थप्न माग गरेको थियो ।

सरकारले १५ असोजमा ३ महिना समय दिएर गठन गरेको आयोगले तोकिएको समयमा काम पूरा नगरेपछि पुनः २ महिना समय थप गरिसकेको छ । थपिएको २ महिनाको समय पनि १५ फागुनमा सकिँदैछ ।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यले प्रतिवेदन लेखनलाई अन्तिम रूप दिन अझै समय लाग्ने भन्दै १५ दिन म्याद थप गर्न सिफारिस गरिएको बताए । ‘यसर्थ यही फागुन मशान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप हुन अनुरोध गरी गृह मन्त्रालयमार्फत नेपाल सरकार (मन्त्रिपरिषद) समक्ष अनुरोध गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

सुन बरामद प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेको थियो । एमालेको अवरोध पछि सरकारले छानबिन समिति बनाएर ३ महिनाको समयावधि दिएको थियो । सरकारले १५ असोजमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगको सदस्यमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्