Logo

गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जली (फोटोफिचर)



काठमाडौँ, १५ फागुन । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जली सभामा उनलाई श्रद्धाञ्जली दिन शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्र, विभिन्न दलका शीर्ष नेताहरु र राजनीतिक व्यक्तित्वहरुको पनि उपस्थिति रहेको छ । स्वर्गीय भक्तराजको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

श्रद्धाञ्जलीका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उपस्थिति रहेको थियो । उनका आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो । उनलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो ।

आचार्यले ‘मुटु जलिरहेछ‘’, ‘जति चोट दिन्छौँ‘’, ‘जहाँ छन् बुद्धका आँखा‘’, ‘हजार सपनाहरूको‘’, ‘माया मेरी साँझ बिहान‘’, ‘हजार आँखा हेर्ने‘’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै छन् ।

उनको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot