Logo

अन्तिम संस्कारका लागि स्वर्गीय भक्तराजको पार्थिव शरीर पशुपति लगियो



काठमाडौं, १५ फागुन । गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको पार्थिव शरीर अन्तिम संस्कारका लागि पशुपति आर्यघाटतर्फ लगिएको छ । उनको हिजो (सोमबार) निधन भएको थियो । स्वर्गीय आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो ।

केही समयअघि प्रतिष्ठानबाट उनको पार्थिव शरीर अन्तिम संस्कारका लागि पशुपति आर्यघाटतर्फ लगिएको हो । भजन शिरोमणि उपाधि पाएका आचार्यको ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो ।

आचार्यले ‘मुटु जलिरहेछ‘’, ‘जति चोट दिन्छौँ‘’, ‘जहाँ छन् बुद्धका आँखा‘’, ‘हजार सपनाहरूको‘’, ‘माया मेरी साँझ बिहान‘’, ‘हजार आँखा हेर्ने‘’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै छन् ।

उनको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्