Logo

मुख्यमन्त्रीको राजीनामा माग्दै जनमतले गर्‍यो प्रदेश सभाको बेल घेराउ, बैठक स्थगित



काठमाडौं । मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ । आज बसेको बैठकमा जनमत पार्टीले मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा माग्दै बेल घेराउ गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको हो ।

बैठक सुरु हुनासाथ जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए । सांसदहरुको अवरोध पछि सभामुख रामचन्द्र मण्डलले जनमतका सांसद चन्दनसिंहलाई बोल्न समय दिएका थिए । सभामुखले समय दिएपछि बोलेका सांसद मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

सिंहले भने, ‘फागुन ६ मा मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा छानबिन समिति गठन गर्ने सहमति भएको थियो । त्यो सहमति कार्यान्वयन हुनुपर्छ ।’

सहमति अनुसार सप्तरी घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन नभएसम्म संसदको कारवाही अगाडि नबढाउन उनले सभामुख मण्डलसँग आग्रह गरे । त्यसपछि सभामुख मण्डलले सामान्य कुरामा सदन अवरुद्ध गर्न नहुने भन्दै खेलकुद तथा समाज कल्याणमन्त्री सुनिता साहलाई प्रदेश बालअधिकार ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए ।

सभामुखले अनुरोध गर्नासाथ जनमतका सांसदहरु बेल घेराउ गर्न पुगेका थिए । केहीसमय बेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित भएको जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्