Logo

प्रधानमन्त्रीले पुरानै विधिबाट त्रिविको भिसी नियुक्ति गर्नुभयोः प्रदीप पौडेल



काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरानै विधिबाट त्रिभुवन विश्वविद्यालयको उपकूलपति नियुक्ति गरेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक’ बारे बोल्दै यस्तो बताएका हुन् ।

नेता पौडेलले अहिलेको विद्यामान विधिबाट अब विश्वविद्यालय चल्दैन भन्ने प्रमाणित भइसकेको बताए । उनले प्रधानमन्त्रीले मेरिटोक्रेसीका आधारमा विश्वविद्यालयमा उपकूलपति नियुक्ति गरिने अभिव्यक्ति र हुट्हुटी देखाएपनि पुरानै विधिबाट त्रिवीको उपकूलपति नियुक्ति गरिएको भन्दै आपत्ति जनाए ।

‘त्रिभुवन विश्वविद्यालयमा के प्रमाणित भयो भने अहिलेको विद्यामान विधिबाट अबको विश्वविद्यालय चल्दैन, यसलाई राजनीतिबाट मुक्त गर्न सकिँदैन भन्ने कुरा प्रमाणित भयो । हामी ब्यवस्थित गर्न विधेयकहरुमा छलफल गरिरहेका छौं । विश्वविद्यालयहरु थप समस्याको परिस्थितिमा छन् ।’ उनले भने, ‘अब कुनै पनि विश्वविद्यालय विद्यमान विधिबाट चल्न सक्दैन भन्ने निश्कर्ष निस्कियो । प्रधानमन्त्रीले एकदम हुटहुटी ब्यक्त गर्नुभयो । संसारका नेपालीलाई म प्रतिस्पर्धामा ल्याउँछु भन्नुभयो । अखिरी उहाँले विधि त पुरानै अपनाउनु भयो । वचनमा हुट्हुटी देखियो काममा त काहीँ पनि देखिएन ।’

विश्वविद्यालयको संरचना र सञ्चालनबारे राज्य प्रष्ट हुनुपर्ने उनको भनाइ छ । अब सबै विश्वविद्यालयको आ–आफ्नो ऐन भन्दा पनि छाता ऐन बनाएर सञ्चालन गरिनुपर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्