काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य नारायण दाहालले अराजक प्रवृति नियन्त्रण गर्न संसद्, सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार आसपासका फुटपाथमा हिँड्न रोक लगाइएको बताएका छन् ।
आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारको मनसाय नागरिकलाई दुःख दिने नरहेको बताएका हुन् । सोझा, सिधा नागरिकलाई भड्काएर हिँडाउने प्रयत्न भइरहेको भन्दै उनले यस्ता प्रवृत्तिलाई निरुत्साहित पार्न अस्थायी रुपमा सडक पेटीमा हिँड्न रोक लगाइएको बताएका हुन् ।
‘नागरिकलाई होईन, केही अराजक तत्वहरु अहिले सडकमा देखिन थालेका छन् । सोझा, सिधा नागरिकलाई भड्काएर हिँडाउने प्रयत्न भइरहेको छ । केही समयका लागि अस्थायी रुपमा त्यो गरेको हो,’– नेता दाहालले भने ।
अस्तव्यस्तता र अराजकता ननिम्तियोस् भन्नका लागि केही समयका लागि निषेधित क्षेत्र घोषणा गरिएको उनले बताए । सरकारले लघुवित्त पीडितहरु संसद् भवन परिसरमा छिरेपछि संसद् भवन, सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार आसपासका फुटपाथमा नागरिकलाई हिड्न निषेध गरेको छ । File Photo/RN