Logo

विप्लवको प्रश्नः संसद्मा गणतन्त्र मुर्दावादभन्दा संरक्षण गर्ने, किसान र मजदुरलाई चाहीँ किन प्रतिबन्ध ?



काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले राज्यले छिटोभन्दा छिटो मिटरब्याज पीडित र लघुवित्त पीडितहरुसँग सार्थक संवाद गर्नुपर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मिटरब्याज समस्या सरकारले पूरै खारेज गर्नुपर्ने बताएका हुन् ।

उनले सरकारलाई आफ्नो आजाव सुनाउन आएका विकास र गरिब जनतासँग सरकार आत्तिनुपर्ने कुनै कारण नरहेको बताए । उनले सरकारले गणतन्त्रको विरुद्धमा आवाज उठाउनेलाई संरक्षण गरेर गरिब र किसानलाई भने दुःख दिइरहेको उनको भनाइ छ ।

‘राज्यले छिटोभन्दा छिटो सार्थक संवाद गरेर मिटरब्याज र लघुवित्त पीडित जनतालाई रक्षा गर्नुपर्छ, मुक्ति दिनुपर्छ । मिटरब्याजलाई पूरै खारेज गर्नुपर्छ । जनताबाट आत्तिनु पर्दैन । त्यसमा पनि गरिब र पीडित किसानबाट सरकार आत्तिनु पर्दैन । उनीहरु आफ्नो आवाज सुनाउन काठमाडौं आएका छन्, सुन्नुपर्छ ।’ उनले भने, ‘उत्ता (संसद्मा) खुलेआम गणतन्त्र मुर्दावाद भन्ने चाहीँ चलिरहेको छ । तर, भोको किसान, घरबास उठिबास भएका किसानहरुले न्याय पाऊँ भन्दा प्रतिबन्ध लगाउन पर्ने र निषेधाज्ञा जारी गर्नुपर्ने जरुरी छैन । यो राज्यको गलत कुरा हो ।’

राज्यका जिम्मेवार निकायहरुले जनताको पक्षमा काम नगरेको उनको भनाइ छ । अहिलेको व्यवस्था गणतन्त्रको चरित्र नभएको बताए । उनले यसलाई दलाल पुँजीवादी व्यवस्थाको संज्ञा दिँदै उनले अब वास्तविक जनताको जनगणतन्त्रमा यो व्यवस्थालाई रुपान्तरण गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्