Logo

इलाम-२ उपनिर्वाचनमा ओलीको उम्मेदवार सुहाङ कि झलनाथ ?



काठमाडौं,१६ फागुन । निर्वाचन आयोगले रिक्त रहेको प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचन मिति तय गरेसँगै दलहरुको चुनावी सरगर्मी बढेको छ । गएको प्रतिनिधि सभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित सांसद संविधान सभा अध्यक्ष, पूर्व सभामुख, नेकपा (एमाले) का उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि आयोगले आगामी वर्षको वैशाख १५ गते निर्वाचन गर्न मिति तय गरेको छ ।

२०५६ सालदेखि लगातार पाँच पटकसम्म इलाम-२ बाट निर्वाचित हुँदै आएका नेम्वाङको गत भदौं २६ गते आकस्मिक निधनपछि उक्त क्षेत्र जनप्रतिनिधिविहीन छ । आगामी वैशाख १५ गते इलाम-२ सँगै बझाङ १ को प्रदेश सभा (ख) मा पनि निर्वाचन हुँदैछ । प्रदेश सभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको गत असारमा गाडी दुर्घटनामा निधन भएपछि सो क्षेत्रमा पनि उपनिर्वाचन हुन लागेको हो ।

वैशाख १५ मा इलाम-२ मा मात्र नभएर बझाङमा पनि उपनिर्वाचन हुने भएतापनि चर्चा भने इलाम-२ कै धेरै छ । इलाम कम्युनिष्ट पार्टीको गढको रुपमा वर्षौदेखि चिनिँदै आएको छ । आयोगले उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको छ । नेताहरु टिकटका लागि आफ्नो नजिक रहेका नेता भेट्न दौडधुपमा लागेका छन् । गत चुनावमा सत्तारूढ गठबन्धनमा रहेको दल नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भएको थियो । गठबन्धनका उम्मेदवार कांग्रेसका डम्बर खड्कालाई एक सय १४ मतले पछि पार्दै एमालेका नेम्वाङ विजयी भएका थिए ।

को-को छन् टिकटका आकांक्षी ?

आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै उक्त क्षेत्रका नेताहरु आफू विजयी हुने दाबीसहित प्रदेश र केन्द्रीय तहका नेताकहाँ धाउन थालेका छन् । कांग्रेसको तर्फबाट जिल्ला सभापति डम्बर खड्का र महासमिति सदस्य भेषराज आचार्यको नाम चर्चामा छ । पूर्वजिल्ला सभापति तथा पूर्वसांसद केशव थापा र नगेन्द्र कुमालको पनि नाम चर्चामा छ ।

एमालेबाट स्व नेम्वाङका छोरा सुहाङ नेम्वाङको सबैभन्दा धेरै चर्चा छ । जिल्ला सचिव उमेश गुरुङ, उपसचिव रवीन्द्र सुवेदीको उत्तिकै चर्चा छ । स्व.नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनालको नाम पनि चर्चामा रहँदै आएको छ ।

कांग्रेससँग सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केही नेताको नाम चर्चामा रहेको छ । माओवादी केन्द्रका तर्फबाट प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ, जिल्ला इन्चार्ज कुलप्रसाद लिम्बू, पूर्वजिल्ला इञ्चार्ज धिरेन्द्र शर्मा (रमन), जिल्ला सह–इन्चार्ज कान्छा लावती र जिल्ला अध्यक्ष विजय राईका नाम चर्चामा रहेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद (केपी) पालुङ्वाको नाम चर्चामा रहेको छ । उनी गएको निर्वाचनमा पनि उठेका थिए । उनले सम्मानजनक मत प्राप्त गरेका थिए । पालुङ्वालाई पहिचान पक्षधरले सहयोग गर्ने एकथरीको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट समेत उम्मेदवारीको चर्चा हुन थालेको छ । सो पार्टीबाट पूर्वप्रधानमन्त्री भइसकेका झलनाथ खनालको चर्चा हुन थालेको छ । उनी गएको निर्वाचनमा इलाम १ बाट पराजित भएका थिए । एकीकृत समाजवादीले जिल्ला कमिटीको निर्णयबाट मात्र उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा स्वतन्त्र उम्मेदवारको चर्चा हुन थालेको छ । रास्वपाले सोमबारमात्रै अवस्था बुझ्नका लागि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाएको छ । रास्वपाबाट इलाम-२ मा पूर्व बैंकर अनिल केशरी शाह र सहमहामन्त्री रमेश प्रसाईंको नाम चर्चामा रहेको छ ।

आदिवासी जनजाति =पत्रकार महासंघका महासचिवसमेत रहेका माओवादी केन्द्र निकटका पत्रकार मिलन लिम्बूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् भने अन्य कतिपय व्यक्तिले पनि सामाजिक सञ्जालमार्फत उम्मेदवारी दिने बताउँदै आएका छन् । तर, सार्वजनिक रुपमा घोषणा गरिसकेका छैनन् ।

एमालेको उम्मेदवार सुहाङ कि झलनाथ ?

त्यसो त उपनिर्वाचनमा धेरैले उम्मेदवारी दिएपनि अहिलेको अवस्थामा इलाम २ मा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीचनै हुने निश्चित छ । एमालेले वर्षौदेखि आफ्नो पकडमा राख्दै आएको सो क्षेत्र यसपटक पनि नगुमाउने गरी उम्मेदवार छान्ने तयारी गरेको छ ।

एमाले स्रोतका अनुसार इलाम २ का लागि सबैभन्दा धेरै सम्भावना भएका उम्मेदवारको पहिलो सूचीमा सुहाङ छन् । अधिवक्तासमेत रहेका सुहाङ स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् ।

राजनीतिमा प्रत्यक्ष नजोडिएका सुहाङ बावुको निधनपछि पछिल्लो समय जिल्ला र नेताहरुसँग भेटघाटमा व्यस्त रहेका छन् । नेम्वाङको निधनपछि इलाममा आयोजित शोकसभामा बावुको अधुरो सपना पूरा गर्न आफू तत्पर रहेको बताउँदै राजनीतिमा आउने सन्देश दिईसकेका छन् ।

सुहाङले एमालेका केन्द्रीय तहका नेताहरुसँगको भेटघाटलाई बाक्लो बनाउदै लगेका छन् । गत फागुन ११ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनमा ओलीलाई शुभकामना दिन पार्टी मुख्यालय च्यासलमा पुगेका सुहाङ इलाम-२ का जनताको भावना समेट्न आफू उपयुक्त उम्मेदवार हुने बुझाइमा रहेका छन् ।

सुहाङले पार्टीले उपयुक्त जिम्मेवारी दिएमा आफू तयार रहेको र खुट्टा नकमाउने सार्वजनिक अभिव्यक्ति दिएका छन् । सुहाङको उक्त अभिव्यक्तिपछि धेरैले उनलाई इलाम-२ को एमालेको एकल उम्मेदवारको रुपमा हेरेका छन् । देशले युवा उम्मेदवार खोजेको र सुहाङ त्यसका लागि उपयुक्त पात्र हुनसक्ने भन्दै उनको पक्षबाट चर्को लविङ भईरहेको एमालेको स्रोतको भनाइ छ ।

झलनाथको चर्चा किन ?

एमालेले टिकटका सम्भावित उम्मेदवारको रुपमा पूर्व प्रधानमन्त्ती झलनाथ खनाललाई पनि राखेको छ । खनाल हाल एमालेमा छैनन् । एमालेबाटै २ वर्षअघि पार्टी फुटाएर बनेको एकीकृत समाजवादीको सम्मानित नेता रहेका खनाल गत वर्ष इलाम-१ बाट एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग भारी मतान्तरले पराजित भएका थिए ।

गत निर्वाचनमा उम्मेदवार बनेका शीर्ष नेतामध्ये खनालमात्र पराजित भएका थिए । शीर्ष नेताहरुमध्ये आफू संसद्मा नहुँदा संसदनै अपूरो भएको खनालको जिकिर छ । संसद्ले गर्नुपर्ने महत्वपूर्ण काममा आफ्नो उपस्थिति अनिवार्य रहेको जिकिरसहित खनाल इलामबाट उम्मेदवार बन्न कम्मर कसेका छन् । खनालको जिकिरमा कांग्रेस बाधक बनेपछि उनी पार्टीनै परिवर्तन गर्ने मुडमा रहेको स्रोतको दाबी छ ।

गत वर्ष वैशाखमै भएको तनहुँ-१ को उपनिर्वाचनमा पनि खनाल उममेदवार बन्न तत्पर थिए । तर, सत्ता गठबन्धनको दल कांग्रेसले उक्त क्षेत्र छाड्न नमानेपछि खनाल पछि हटेका थिए । पछिल्लो समय सरकार र सत्ता गठबन्धनसँग चिँढिएका खनाल जसरी पनि यसपटक संसद छिर्ने दाउमा रहेका छन ।

सत्ता गठबन्धनले आफूलाई साझा उम्मेदवार नबनाउने छनक पाएका खनाल पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने तयारीमा रहेको स्रोतको दाबी छ । एमालेले आफूलाई सर्वसम्मत उम्मेदवार बनाउन तयार रहे एमाले प्रवेश गर्न आफूलाई कुनै आपत्ति नरहेको खनाल स्वयंले बताउँदै आएका छन् । खनाल पार्टीमा समेत लामो समयदेखि असन्तुष्ट रहँदै आएका छन् ।

गत महिना एकीकृत समाजवादीले आफ्नो मार्गदर्शन सिद्धान्तमा जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई नै मान्ने निष्कर्षमा पुगेपछि खनालले आपत्ति जनाएका थिए । एमालेमै रहँदा पनि खनाल जवजको विपक्षमा रहँदै आएका थिए । जवजलाई दक्ष प्रजापतिको टाउकोसँग तुलना गर्न भ्याएका खनाल उपनिर्वाचनमा टिकट पाए जवजको हिमायती एमालेमै फर्किन भने तयार भएको देखिन्छन् ।

खनाल र सुहाङको विकल्पमा तुम्बाहाम्फे

इलाम-२ बाट जिल्ला इन्चार्ज शिवमाया तुम्बाहाम्फेको पनि चर्चा हुने गरेको छ । कार्यथलो मोरङ-१ रहेकी पूर्व उपसभामुख तथा कानून न्याय एवं संसदीय मामिलामन्त्री तुम्बाहाम्फेलाई इलाम पठाउन एमालेको एक समूह लागि परेको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल उनलाई इलाम पठाएर मोरङ-१ आफ्नो लागि सुरक्षित गर्न चाहान्छन् ।

कार्की झापा-५ को प्रदेश सभाबाट लगातार दोस्रो पटक कोशी प्रदेशमा निर्वाचित भएका छन् । झापा-५ पार्टी अध्यक्ष ओलीको निर्वाचन क्षेत्र हो । अध्यक्ष अ‍ोली सो क्षेत्रबाट उम्मेदवार बनुन्जेलसम्म आफ्नो राजनीति प्रदेशबाट माथि उठ्न नसक्ने देखेका कार्की र गत निर्वाचनमा मोरङ-३ बाट उम्मेदवार बनेका ढकाल कांग्रेस नेता सुनिल शर्मासँग भारी मतान्तरले पराजित भएपछि उनीपनि निर्वाचन क्षेत्र फेर्न लागि परेका छन् । यस्तोमा तुम्बाहाम्फेलाई इलाम पठाउन सकेमा आफ्नो निर्वाचन क्षेत्र सुरक्षित हुने उनीहरुको बुझाइ छ ।

परिवारवादमा केन्द्रीत राजनीति

नेपालको राजनीतिको परिघटनालाई हेर्दा एमालेमा अपवादबाहेर श्रीमानको निधनपछि भएको उपनिर्वाचनमा श्रीमती उम्मेदवार बन्ने, बावुको निधनपछि छोरा उम्मेदवार बन्ने प्रचलन बढ्दो छ । प्रारम्भमा राजनीतिमा लागेर बीचमा छाडेकी विद्या भण्डारी र विद्या भट्टराई मात्र नभएर विमला खत्री आलीपनि यसका उदाहरण हुन् ।

पूर्व राष्ट्रपति, तत्कालीन एमालेकी उपाध्यक्ष भण्डारी जननेता मदन भण्डारीको निधनपछि संसदीय राजनीतिमा होमिएकी थिईन् । २०५० सालमा मदन भण्डारीको निधनपछि भएको उपनिर्वाचनमा काठमाडौं-१ बाट उम्मेदवार बनेर जितेकी भण्डारी त्यसपछि नै राजनीतिको शिखरमा पुग्दै मुलुककै प्रथम महिला राष्ट्रपतिको कुर्सीमा आसिन भएकी थिईन् ।

भण्डारीजस्तै तत्कालीन अनेरास्ववियुकी महिला विभाग प्रमुख विद्या भट्टराई पनि श्रीमान रवीन्द्र अधिकारीको निधन पछिमात्रै संसदीय राजनीतिमा प्रवेश गरेकी हुन् । २०७५ सालको फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको निधन भएपछि भएको उपनिर्वाचनमा विद्या उम्मेदवार बनेर संसदीय राजनीतिमा प्रवेश गरेकी थिईन् । उनी हालपनि कास्की-३ बाट दोस्रो पटक संसद्मा प्रतिनिधित्व गरिरहेकी छन् ।

लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री विमला ओली श्रीमान उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा सांसद बनेर प्रदेश सभामा छिरेकी नेतृ हुन् । तत्कालीन नेकपा फुटेपछि मुख्यमन्त्री शंकर पोखरेलको सरकार ढाल्न माओवादीमा प्रवेश गरेपछि चर्चामा आएकी उनी एक बिवाहित पुरुषसँगको सम्बन्धका कारण झनै चर्चामा आईन् । एमाले-माओवादी हुँदै पुनः एमालेमै फर्किएकी विमला हाल राजनीतिको केन्द्रभन्दा टाढा धकेलिएकी छन् ।

एमालेमा मात्र नभएर पारिवारिक लिगेसीको विरासत कांग्रेस, माओवादीमा पनि देखिँदै आएको छ । २०७० को संविधान सभामा सदस्य रहेका हरि खड्काको सडक दुर्घनापछि निधन भएपछि भएको उपनिर्वाचनमा उनकी श्रीमती चम्पादेवि खड्कालाई नै कांग्रेसले टिकट दिएर जिताएको थियो भने वैशाख १५ गते हुने उपनिर्वाचनमा बझाङ २ को ख मा स्वर्गीय र्पथ्वीबहादुर सिंहका छोरा अभिषेकबहादुर सिंह उम्मेदवार बन्ने चार्चा हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot