Logo

ढुक्क भएर लगानी गर्न व्यवसायीलाई अर्थमन्त्री महतको आग्रह



काठमाडौं, १६ फागुन । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीहरुलाई उच्च मनोबलका साथ लगानी गर्न अनुरोध गरेका छन् । नवलपरासी औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन ब्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री डा.महतले भने, ‘आत्मविश्वास बढाऔं, अब अर्थतन्त्र अगाडि बढ्छ, अहिलेको जस्तो अवस्थामा रहँदैन । विस्तारै निर्माण क्षेत्रमा माग बढेको छ, सिमेन्ट, रडको माग बढेको छ, नीतिगत सुधारका धेरै काम भएकाले व्यवसायीहरु ढुक्क भएर लगानी गर्नुहोस् ।’

उद्घाटन कार्यक्रममा मन्त्री डा. महतले ब्याजदर घटेकाले विचार पुर्याएर ऋण लिने र लगानी गर्ने वातावरण बनेको बताउँदै उनले एउटाले फाइदा गरेको व्यवसायतिर सबै नलागी, नयाँ सम्भावनाको खोजी गर्न व्यवसायीहरुलाई आग्रह गरे ।

‘अब अर्थतन्त्र ठीक बाटोमा जान्छ, राजश्व करिब १० प्रतिशतले वृद्धि भएको छ । पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटकको आगमन अझ बढ्ने छ’ मन्त्री महतले भने, ‘आत्मविश्वास जगाऔं, विचार पु¥याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ । उत्पादन र रोजगारी बढेपछि राजश्व बढ्छ । राजश्व बढेपछि राज्यले बजेट दिने क्षमता बढ्छ । बजेटको क्षमता बढ्यो भने विकास निर्माणमा खर्च गर्न क्षमता बढ्छ ।’

उनले मूल्यवृद्धि पनि नियन्त्रणमा रहेको स्पष्ट पारे । मन्त्री महतले आफू अर्थमन्त्री भएका बेला मूल्यवृद्धि सालाखाला ८ प्रतिशतभन्दा माथि रहेको स्मरण गराउँदै अहिले साढे ६ प्रतिशतभन्दा तल झरेको बताए । उनले यसले उपभोक्तालाई राहत दिएको दाबी गरे ।

उनले अर्थतन्त्रको समस्या सुधारको बाटोमा रहेको बताए । ब्याजदर छिट्टै एकलविन्दुमा झर्ने उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय समस्या चर्केका बेला घरजग्गा र सेयर बजारमा अत्याधिक लगानी हुँदा नेपाल राष्ट्र बैंकले ऋण प्रवाह घटाएको र ब्याज बढ्न र्गएको बताए ।

एकथरिले सहकारी र लघु वित्त पीडितलाई उपयोग गरेर राजनीतिकको रोटी सेकाउन थालेको उनको भनाए छ । मेरो पछि लाग्यो भने ऋण तिर्नुपर्दैन, माफी पाइन्छ भनेर एकथरिले लघुवित्त पीडितलाई बोकेर हिँडेको टिप्पणी गरे । जसले ऋण लिएको छ, उसलाई ब्याजदरमा राहत दिन सकिने, ऋण तिर्नेलाई समय दिन सकिने तर ऋण लिएर तिर्दैतिर्दिन भन्न नपाइने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्