Logo

पार्टीका सबै संरचनामा प्रचण्डले घरपरिवारका मान्छे राखेर चल्दैनः खगराज भट्ट



काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्टले पार्टी स्थायी कमिटी बैठकको निर्णय र कार्य विभाजनप्रति आफ्नो गम्भीर असन्तुष्टि रहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले स्थायी कमिटी बैठकको निर्णयले आफ्नो राजनीतिक र संगठनात्मक जीवनलाई नै समाप्त पार्न खोजेको बताए ।

प्रदेश सभाको संसदीय दलको नेताबाट हटाउने र इन्चार्ज पनि नदिने निर्णय पार्टीको शीर्ष तहबाटै हुँदा आफू अन्यायमा परेको उनले बताए । अब सुदूरपश्चिमका लाखौं जनता र हजारौं कार्यकर्ताको बीचमा गएर प्राप्त सुझावहरुको आधारमा अन्यायका विरुद्धमा पार्टीभित्रै संघर्ष गर्ने बताए । जनयुद्धका क्रममा आफू र आफ्नो परिवारका ठूला योगदान र बलिदानी रहेको स्मरण गराउँदै उनले पार्टी छाड्ने प्रकारको विकल्पको कल्पना पनि गर्न नसक्ने बताए ।

‘म यो पार्टीको इमानदार क्रान्तिकारी सिपाही हो । जनयुद्धको थालनीकै महिना सुदूरपश्चिमबाट जेल परेको पहिलो जेलबन्दी पनि म हुँ । मैले शेरबहादुर देउवासँगै दुई÷तीन चोटी चुनाव पनि लडेको छु । अहिले प्रदेश सभामा छु । त्यसकारण पार्टीको विकल्प मेरा लागि कल्पनाको विषय पनि होईन ।’ उनले भने, ‘तर, मलाई अन्याय भएको छ । मेरो राजनीतिक र संगठनात्मक जीवनलाई समाप्त गर्ने खेल भएको छ । स्वयम् अध्यक्षबाट स्थायी कमिटीमो सो प्रस्ताव पेश भएको छ । त्यो कुराप्रति मेरो गम्भीर आपत्ति हो ।’

पार्टी उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा कार्य विभाजनको सन्दर्भमा फरक विचार दर्ज गरका थिए । उक्त विषयलाई लिएर पार्टी विभाजनतिर त जाने होईन ? भन्ने प्रश्नमा उनले उपमहासचिव शर्माले पार्टीका अनेकौं अप्ठ्याराहरुलाई समेत सहज रुपमा स्वीकार गरेर अगाडि बढेकाले अहिले त्यो सम्भावना नरहेको र पार्टी विभाजन हुन पनि नहुने बताए । उनले औपचारिक विभाजनभन्दा पनि अनौपचारिक विभाजन डरलाग्दो हुनेसमेत बताए । पार्टीभित्र अविश्वास, आशंका, अराजकता, गुटबन्दी, षड्यन्त्र, घातप्रतिघात रहेको अवस्थामा त्यो विभाजनभन्दा पनि डरलाग्दो हुने उनले बताए ।

‘औपचारिक विभाजन र अनौपचारिक विभाजन भन्ने कुरा पनि तपाईँले बुझ्नु भएकै छ । एउटै पार्टी छ, तर त्यहाँ अविश्वास, आशंका, अराजकता, गुटबन्दी, षड्यन्त्र, घातप्रतिघात छ भने त्यो एकताभित्र पनि विभाजन हुन्छ ।’ नेता भट्टले भने, ‘पार्टीको परिधिभित्र रहेर बहस, छलफल गर्ने अधिकार हरेक नेता कार्यकर्ता हो । पार्टीलाई विभाजन गर्नुपर्छ भन्ने आशयले जनादर्न शर्माले त्यो (फरक मत) राख्नु भएको हो भन्ने मलाई लाग्दैन ।’

नेता भट्टले पार्टी पूरै परिवारवादमा फस्यो भन्ने कुरामा आफूलाई विश्वास नरहेको बताए । पार्टीमा रक्तरञ्जित क्रान्तिको नेतृत्व गरेका थुप्रै नेताहरु रहेका बताउँदै उनले जनतामा सकारात्मक सन्देश दिने गरी निर्णय हुनुपर्ने बताए । पार्टीका सबै संरचना प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरपरिवारबाट नचल्ने पनि उनको भनाइ छ । उनले भने, ‘पूरै परिवारवादको आरोप लगाइहाल्नु पर्ने अवस्था त होईन । यो पार्टीभित्र रक्तरञ्जित क्रान्तिको नेतृत्व गरेका नेताहरु हुनुहुन्छ । यो पार्टीका सबै संरचनामा प्रचण्डले आफ्नो घरपरिवारको मान्छे राखेर पनि चल्दैन । त्यसो भएको पनि छैन । मुख्य कुरा पार्टीको सन्देश चाहिँ जनतामा सकारात्मक जानेगरी आउन पर्यो भन्ने हो । यस कारणले पार्टी प्रभावकारी ढंगले जानुपर्यो, इमानदार साथीलाई न्याय हुन पर्यो । हाम्रो यात्रा ओरालो छ । फेरि त्यही यात्रामा नजाउँ भन्ने हो ।’



प्रतिक्रिया दिनुहोस्