काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घिटीघिटी अवस्थामा चलेका बहुवर्षीय आयोजनाहरुलाई यस पटक बजेट विनियोजन नगरिने बताएका छन् । आज (बिहीबार) सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८०÷०८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा कार्यक्रममा बोल्दै उनले कयौं वर्षदेखि घिटीघिटी चलेका त्यस्ता आयोजनाहरुको बजेट यो वर्षदेखि रोक्ने बताएका हुन् । उनले छिटै सम्पन्न हुने र प्रत्यक्ष अनुभूति हुने खाल्का आयोजनालाई यस पटक प्राथमिकतामा राखिनेसमेत बताए ।
‘विगतमा बहुवर्षीय भनेर स्रोत सुनिश्चितता गरिएका थुप्रै परियोजनाहरु छन् । ती सबैलाई हामीले पुरानै रुपमा निरन्तरता दिने भन्यौं भने परिणाम पनि निस्किँदैन । हाम्रो बजेटले पनि धान्नेस्थिति छैन । त्यो परिस्थितिमा पुराना पनि छिटै सम्पन्न हुनसक्ने स्थितिमा पुगेका, त्यसले जनतालाई प्रत्यक्ष अनुभूति गराउने आयोजनालाई प्राथमिकतामा राखेर बजेट दिएर छिटोभन्दा छिटो सम्पन्न गर्नेतिर ध्यान दिन पर्यो ।’ उनले भने, ‘हुनसक्ने अवस्था छैन, कयौं वर्षदेखि घिटीघिटी चलेका छन्, त्यस्तालाई चाहीँ रोकिनै दिने, अरुलाई चाहीँ जीवित नै राखेर फेरि अर्को पटकका लागि गर्ने तरिकाले जाने सही हुन्छ ।’
बढीभन्दा बढी आयोजना पार्न खोज्ने प्रवृतिले अर्थतन्त्र बढी प्रभावित हुने बताउँदै उनले प्राथमिकताका आधारमा बजेट विनियोजन गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।