Logo

प्रधानमन्त्रीले मन्त्रीहरु बर्खास्तीको ‘ब’ पनि उच्चारण गर्न सक्नुभएनः एमाले सचेतक बर्तौला



काठमाडौं, १८ फागुन । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवादमा परेका र सार्वजनिक प्रश्न उठेका मन्त्रीहरुको बर्खास्तीको ‘ब’ पनि उच्चारण गर्न नसकेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारमा रहेका मन्त्रीहरुले राजनीतिको सामान्य नैतिकता पनि प्रदर्शन नगरेको बताए । वर्तमान सरकारले संसद्लाई पूरै प्यारालाइज गर्न खोजेको बताए ।

‘हामीले लगातार ६ गतेदेखि सार्वजनिक प्रश्न सिर्जना भएका र विवादमा परेका मन्त्रीहरुले मार्ग प्रशस्त गर्नुपर्छ, राजनीति इमानबाट निर्देशित हुन्छ, कम्तिमा पनि सामान्य राजनीतिक नैतिकता प्रदर्शन गर्ने दायित्व मन्त्रीहरुको हुन्छ । सार्वजनिक प्रश्न सिर्जना भएपछि र विवादमा परेपछि उहाँहरु स्वयंले नै मार्ग प्रशस्त गर्नुपर्थ्यो ।’ उनले भने, ‘उहाँहरुले सहज ढंगले मार्ग प्रशस्त नगर्दा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्थ्यो । तर, प्रधानमन्त्री परालको लौरोजस्तो कमजोर हुनुभयो । उहाँले बर्खास्तको ब पनि उच्चारण गर्नसक्नु भएन । प्रधानमन्त्रीले मन्त्री बर्खास्त गर्छु भन्दाखेरी मन्त्रीहरु स्वयंले प्रधानमन्त्रीकै बर्खास्त गर्दिने अवस्था आयो । जस्तोसुकै अपराध कर्ममा मन्त्रीको संलग्नता भएपनि प्रधानमन्त्रीले टुलुटुलु हेरेर बस्ने अवस्था आएको छ ।’

वर्तमान सरकारले संसद् र कानुनलाई बोझ मानेको उनको भनाइ छ । आज संसद्मा सरकारले आफ्ना मागहरुको जवाफ नदिएमा विरोध गर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्