Logo

निर्वाचनका बेला जनतामाझ वाचा गरेका छौं, गठबन्धन तलमाथि हुँदैनः उपप्रधानमन्त्री खड्का



काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका उपसभापति, उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले वर्तमान सत्ता गठबन्धन पूरै अवधि अगाडि जाने बताएका छन् । आज (शुक्रबारं) कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८० को उद्घाटन सभालाई सम्बोधन गर्दै उनले आफूहरुले निर्वाचनको बेला मत माग्दा नै पाँच वर्ष सरकारको नेतृत्व गरेर सुशासन र जनतालाई डेलिभरी दिने प्रतिवद्धता ब्यक्त गरेकाले वर्तमान सत्ता गठबन्धन पूरै अवधि अगाडि बढ्ने बताएका हुन् ।

निर्वाचनका बेला कर्णालीलाई पछि पारियो भन्ने भाष्य बदलेर केन्द्रमा पुर्याउँछौं भनेर गरेको वचनवद्धता नबिर्सिएको पनि उनले बताए । उनले अहिले जनतामा छाएको निराशालाई आशा, भरोसा र विश्वासमा बद्ने गरी सरकार अगाडि बढ्ने बताए । केही समयभित्रै जनतामा आशा, भरोसा र विश्वासको वातावरण निर्माण हुने परिस्थिति सरकारले बनाउने उनले बताए ।

‘अहिलेको अवस्थामा यदाकदा नेपाली दाजुभाइ दिदीबहिनीमा देखिएको निराशा, अलिकति यताउता हुने हो कि भन्ने कुरा छ । हामी आफूलाई सच्याउँछौं, सुधाछौं । कमजोरीहरु जहाँ–जहाँ भएका छन्, हामी त्यसलाई दोहोर्याउँदैनौं । हाम्रा गल्ति छन् भने हामी त्यो दोहोर्याउँदैनौं भन्ने संकल्प गर्छौं । आम मतदातालाई विश्वास दिलाउँछौं । मुलुकलाई अहिलेको अप्ठ्यारोबाट माथि उठाएर उन्नति र प्रगतिको विशेष कार्ययोजनामार्फत तीब्र गतिमा हामी अगाडि लिएर जान्छौं,’– उनले भने ।

साथै, चलचित्र क्षेत्रको नीतिगत सुधारमा सरकारले काम गर्ने उनले प्रतिवद्धता ब्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्