Logo

लुम्बिनीमा हुने नोबेल पुरस्कार विजेताहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा दलाई लामा पनि सहभागी हुन लागेको सूर्य थापाको आरोप



काठमाडौं, १८ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले लुम्बिनी प्रदेश सरकारले आयोजना गर्न लागेको बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा विवादास्पद धर्म गुरु दलाई लामालाई पनि बोलाइएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेवेल शान्ति पुरस्कार विजेताहरु सहभागी हुने कार्यक्रममा विवादास्पद व्यक्तिलाई बोलाएर कस्तो सन्देश दिन खोजेको हो ? भन्दै उनले प्रश्न गरे । साथै, उनले परराष्ट्र मन्त्री एनपी साउदको समेत ध्यानाकार्षण गराए ।

‘लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा नोबेल पुरस्कार विजेताहरुको अन्तर्राष्ट्रिय सम्मेलन भनेर मार्च ११ र १२ गते गर्ने भनेको थियो । त्यो सम्मेलनमा विवादास्पद व्यक्ति दलाइ लामालाई समेत बोलाएर, उनले तिब्बतमा विद्रोह गरेको दिन भन्दै १० देखि थाल्ने भनिएको थियो । त्यसलाई केही सच्याइएको छ । दलाई लामालाई समेत बोलाएर लुम्बिनीमा कस्तो सम्मेलन गर्न सहमत भएको हो परराष्ट्र मन्त्रालय ?’ उनले प्रश्न गरे ।

उक्त कार्यक्रममा दलाई लामालाई बोलाएर नेपाललाई विवादित बनाउन खोजिएको उनको भनाइ छ । लुम्बिनी प्रदेश सरकारले यही फागुन २८ र २९ गते बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलन आयोजना गरेको छ । उक्त सम्मेलनलाई ‘लरिएट्स एन्ड लिडर्स’ को नाम दिइएको छ । सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल पुरस्कार विजेतासहित उच्च पदस्थ विदेशीहरु सहभागी हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्