Logo

एमालेसँग एकता पनि हुनसक्छः माओवादी उपमहासचिव खनाल



काठमाडौं, १९ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव चक्रपाणि खनालले वर्तमान सत्ता गठबन्धनमा कुनै पनि प्रकारको दरार नरहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीमा अहिलेसम्म कांग्रेससँगको गठबन्धन तोड्नुपर्छ भनेर कुनै पनि प्रकारको औपचारिक छलफल नभएको बताएका छन् । उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा कांग्रेसको महासमिति बैठकले पारित गरेका प्रस्ताव र माओवादीप्रतिको दृष्टिकोणबारे छलफल भएपनि गठबन्धन तोड्नेबारे छलफल नभएको बताए ।

‘एउटा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा के गर्ने भन्ने चलेको थियो । अर्को उहाँहरुको महासमितिबाट पारित केही विषयहरु, र यो परिवर्तनलाई लिएर जे विषय आए त्यसमा हामीले प्रतिक्रिया दिनुपर्छ भन्ने छलफल भएको हो । गठबन्धन नै टुटाउन पर्छ भन्ने छलफल भएको छैन,’– उनले भने ।

नेता खनालले अहिले गठबन्धनका बारेमा कुनै पनि प्रकारको छलफल नभएको र तत्कालै एमालेसँग मिलेर अर्को गठबन्धन बन्ने सम्भावना नरहेको बताए । उनले आगामी चुनावसम्म एमाले अथवा अरु कम्युनिष्ट घटकसँग गठबन्धनदेखि पार्टी एकतासम्म हुनसक्ने सम्भावना रहेको बताए ।

‘चुनावसँग जाँदा अथवा कुनै प्रकारले हामी बहस, छलफल गर्दै जाँदा एमाले वा अन्य वामपन्थी घटकसँग गठबन्धनमात्रै होईन, एकताको सन्दर्भ पनि आउन सक्छ । तर, अहिले नै कांग्रेससँग गठबन्धन टुटाएर जानुपर्छ भन्ने हाम्रो कुनै आधिकारिक छलफल भएको छैन । कोही साथीहरु लागेको भए मलाई थाहा भएन । आधिकारिक प्रस्ताव भएको छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्