Logo

माधव नेपाललाई प्रधानमन्त्री बनाउन नहुने मत माओवादीमा पनि बलियो



काठमाडौं, १९ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव चक्रपाणि खनालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउने कुरामा पार्टीले गम्भीर भएर सोच्नुपर्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अध्यक्ष नेपाललाई प्रधानमन्त्री बन्न संविधान र काननतः अप्ठ्यारो नरहेपनि उनलाई सरकारको नेतृत्व गर्न जनताले म्याण्डेड नदिएको बताए । साथै, माओवादी पनि संसद्को तेस्रो दल भएको र नेतृत्व गर्न जनताले म्याण्डेड नदिए पनि आन्दोलनले स्थापित गरेको एजेण्डालाई संस्थागत गर्न आफूहरुले सरकारको नेतृत्व गरेको बताए । उनले अहिले गठबन्धन सरकारमा केही असन्तुष्टि बढेको र कामको स्पिरिट पनि नमिलेको बताए ।

‘प्रधानमन्त्री बन्न नसक्ने होईन बन्न सक्छ । तर, कुरा के हो भने सानो शक्तिले अवथा म्यान्डेड नभएको शक्तिले नेतृत्व गर्ने कुरामा हामीले पनि सोच्नुपर्छ । हामीले नेतृत्व गरेका छौं, हिजोका आन्दोलनले स्थापित गरेका एजेण्डामा हाम्रो महत्वपूर्ण भूमिका छ । यी कुराहरु हामी मान्छौं । साच्चै भन्ने हो भने हाम्रो तेस्रो दल हो । तेस्रो दलले नेतृत्व गरिराखेको छ । कारण के भन्नुहुन्छ भने केही त्यस्ता समय सन्दर्भसहित हामीले नेतृत्व गरेका हौं । जनताको म्याण्डेडअनुसार त होईन नि । यी कुराहरु हुनसक्छन् । बन्न नपाउने भन्ने चाहीँ होईन,’– उनले भने ।

साथै, राष्ट्रिय सभाको अध्यक्ष माओवादीले नछाड्ने उनको भनाइ छ । उनले राष्ट्रिय सभामा ठूलो दल भएको नाताले राष्ट्रिय सभाको अध्यक्ष माओवादीको हक रहेको बताए । साथै, माओवादीले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने भनेर कहिल्यै पनि छलफल र सहमति नगरेको उनको दाबी छ ।

‘राष्ट्रिय सभाको अध्यक्ष माओवादी पार्टीको हक भयो । सबैभन्दा ठूलो पार्टी रहेको नाताले । फेरि हामीले संवाद टुट्यो भन्ने होईन । स्थायी समितिको निर्णय चाहीँ त्यही हो । हामीले कुरा स्पष्ट गरिसक्यो,’– उनले भने ।

साथै, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दलको मान्यता नपाएको दलको नेता प्रधानमन्त्री बन्न नसक्ने दाबी गर्दै आएका छन् । उनले कुनै हालतमा पनि आफूहरुलाई राष्ट्रिय दलको मान्यता नपाएको दलको ब्यक्ति प्रधानमन्त्री स्वीकार्य नहुने ओलीले बताउँदै आएका छन् ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अबको १० महिनापछि प्रधानमन्त्री बन्ने माधवको पालो छ । सत्ता गठबन्धनमा प्रचण्ड दुई वर्ष, माधव नेपाल एक वर्ष र बाँकी दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमति बनेको बताइएको छ । file Photo/RN



प्रतिक्रिया दिनुहोस्