Logo

राष्ट्रिय सभामा माओवादी ठूलो दल छ, अध्यक्ष उसैले पाउनुपर्छः मन्त्री यादव



काठमाडौं, १९ फागुन । खानेपानी मन्त्री महिन्द्र राय यादवले राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रको उम्मेदवारले पाउनुपर्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै संवैधानिक परिषद्मा माओवादीको सहभागिता शुन्य हुने भएकाले पनि यो आवश्यक रहेको बताएका हुन् । उनले माओवादी राष्ट्रिय सभाको ठूलो दल भएकाले पनि अध्यक्ष उसको हक भएको उनले बताए ।

‘राष्ट्रिय सभाको अध्यक्ष जो ठूलो पार्टी हुन्छ उसले पाउँछ । माओवादीबाट बन्छ । कांग्रेसको दाबीले हुँदैन नि । संवैधानिक परिषदका माओवादीको शून्यता हुने भएकाले पनि राष्ट्रिय सभाको अध्यक्ष बन्नुपर्छ । त्यसकारण गठबन्धनमा यो सहमति बन्छ,’– उनले भने ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट माओवादीको उम्मेदवारको पराजय दुःखद् भएको उनले बताए । उनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा धोका पाएपनि माओवादी गठबन्धनका लागि समझदारी गरेको उनको भनाइ छ । अब कांग्रेसले माओवादीको उम्मेदवारलाई समर्थन गर्नुपर्ने उनले बताए । ‘अस्ति माओवादीको उम्मेदवारले हार्नुपर्यो, त्यो दुःखद् कुरा हो । गठबन्धनका लागि माओवादीले सह्यो । अब कांग्रेसले माओवादीको उम्मेदवारलाई समर्थन गर्नुपर्ने हुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot