Logo

‘भुईँको टिप्दा पोल्टाको पोखिने डर’ कांग्रेसका सबै मन्त्री परिवर्तन गर्ने मनस्थितिमा देउवा



काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्ततः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चाहनाअनुसार सबै मन्त्री परिवर्तन गर्ने मनस्थिति बनाएका छन् । कांग्रेसबाट वर्तमान सरकारमा ९ जना मन्त्रीहरु सहभागी छन् । मन्त्रीहरुको कार्यसम्पादनलाई लिएर प्रधानमन्त्री प्रचण्ड सन्तुष्ट छैनन् ।

प्रधानमन्त्री प्रचण्डले गत पुस १० गते आफू प्रधानमन्त्री भएको एक वर्ष पुगेको उपलक्ष्यमा प्रभाकारी कार्यसम्पादन नगरेका मन्त्रीहरु परिवर्तन गरेर भएपनि देश र जनताको पक्षमा थप प्रभावकारी काम गर्ने बताएका थिए । तर, कांग्रेस सभापति देउवाले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरु नचलाउन भनेपछि प्रचण्ड थप संकटमा परेका थिए ।

कांग्रेस महासमिति बैठकबाट पारित भएका केही प्रस्ताव, महासमिति बैठकमा माओवादीमाथि भएको टीकाटिप्पणी र कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा माओवादीकी उम्मेदवार चम्पा कार्कीले ब्यहोर्नुपरेको हारका कारण प्रचण्ड–देउवाबीचमा दुरी बढेको थियो । सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्यसम्पादन र केही मन्त्रीहरुको नैतिकतामाथि नै सार्वजनिक प्रश्न उठिरहेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड थप संकटमा परेका थिए । कांग्रेसको प्रत्यक्ष हस्तक्षेपका कारण मन्त्रीहरु हेरफेर गर्नसम्म नपाएका प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेकपा (एमाले) सँग सम्बन्ध सुधारको प्रयास गरेपछि देउवा झस्किएका छन् ।

सत्तारुढ गठबन्धन दलका नेताबीच भएको सहमतिअनुसार प्रचण्डले अब १० महिना सरकारको नेतृत्व गर्नेछन् । त्यसपछि एक वर्ष नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सरकारको नेतृत्व गर्नेछन् भने बाँकी दुई वर्ष चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने छ । कांग्रेस संसदीय दलका नेता देउवानै भएकाले यो गठबन्धन तलमाथि नभए उनी नै प्रधानमन्त्री हुनेछन् ।

यसरी आगामी २२ महिनापछि पोल्टामा आउन लागेको प्रधानमन्त्री पद गुम्नसक्ने अनुमान गरेर देउवाले पार्टीमा मन्त्रीहरु फिर्ता बोलाएर नयाँ पठाउने बारे छलफल थालेका छन् । देउवाले बिहीबार पनि पार्टीका केही शीर्ष नेताहरुसँग मन्त्री फेरबदलका बारेमा छलफल गरेको बताइएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्