Logo

स्यानिटरी प्याडमा भ्रष्टाचारः पूर्व मेयरसहित ९ जनाविरुद्ध मुद्दा



काठमाडौं, २० फागुन । स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन मेयर उदयकुमार यादवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आज (आइतबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७७/७८ सालमा नगरपालिकाको सशर्त अनुदानमा स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरी खरीद गरेको तथा गुणस्तरयुक्त नभएको स्यानिटरी प्याड खरीद गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले १३ लाख ९३ हजार छ सय ८७ रुपैयाँ विगो कामय गरेर आज विशेष अदालतमा ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । रेजा ट्रेडिङ प्रालिसँग स्यानिटरी प्याड खरिद सम्झौता गर्नुअघि नै रकम भुक्तानी गरेको, शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको संख्या नखुलेको तर सम्झौता हुनुअघि नै रेजा ट्रेडिङले स्यानिटरी प्याड आपूर्ति गरेको देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्