Logo

फागुन २१ लाई नेपाली ट्रेड युनियन आन्दोलन स्थापना दिवसका रूपमा मनाउने जिफन्टको घोषणा



काठमाडौं, २० फागुन । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले प्रत्येक वर्ष फागुन २१ गतेका दिनलाई ‘नेपाली ट्रेड युनियन आन्दोलन स्थापना दिवस’ का रूपमा मनाउने घोषणा गरेको छ । पुतलीसडकस्थित आफ्नै केन्द्रीय कार्यालयमा आज (आइतवार) आयोजित पत्रकार सम्मेलन मार्फत जिफन्टले यस्तो घोषणा गरको हो ।

जिफन्ट महासचिव लक्ष्मण शर्माले भोली २१ गते पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ७७ औं वार्षिकोत्सव समारोहको उद्घान गरिने जानकारी गराए । उनका अनुसार समारोहमा विभिन्न १६ देशका ट्रेड युनियन प्रनिधिहरूले भाग लिनेछन् ।

२००३ साल फागुन २१ गते तत्कालीन वामपन्थी नेता मनमोहन अधिकारी र नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको अगुवाईमा नेपालमा ट्रेड युनियन आन्दोलनको प्रारम्भ भएको बताउँदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले पछिल्लो समय यो आन्दोलन राजनीतिक अभीष्ट पुरा गर्ने माध्यम बन्दै गएको मा दुःख व्यक्त गरे ।

‘ट्रेड युनियन आन्दोन वर्गीय हो । तर यसलाई राजनीतिक हिसाबले बिभाजित गरिँदैछ,’– श्रेष्ठले भने । पछिल्लो समय ट्रेड युनियन आन्दोलन कमजोर बन्दै गएको स्वीकार्दै अध्यक्ष श्रेष्ठले यसको दोष वर्तमान सत्ता गठबन्धन भएको बताए ।

नेपालको ट्रेड युनियन आन्दोलनलाई कमजोर बनाउन अहिलेको सत्ता गठबन्धनले नक्कली ट्रेड युनियनहरू खडा गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले जनाएको छ । जसका कारण वास्तविक श्रमिक वर्गको मुद्धा ओझेलमा परेको उनले बताए ।

ूयोगदानमा आधारित सामाजिक सुरक्षालाई फितलो बनाउने प्रयत्न भइरहेकोछ ।ू अध्यक्ष श्रेष्ठले पत्रकार भेटघाटमा भने । उनले बैदेशिक रोजगारीलाई युवाहरूमा बाध्यात्मक बन्दै जानु ट्रेड युनियनहरू माथीको प्रहारको परिणाम भएको दावी गरे ।

श्रमिजिवि वर्गका सवै खाले समस्यालाई समाधन गर्दे सुमधुर श्रम सम्वन्ध, औद्योगिक शान्ति र श्रमिकको सामाजिक आर्थिक रुपान्तरणमा लाग्न आफूहरू प्रतिवद्ध रहेको बताउँदै जिफन्टले अब हरेक बर्ष फागुन २१ गतेको दिनलाई मजदुरहरुको महान चाडको रुपमा मनाउने घोषणा पत्रकार सम्मेलनमा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्