Logo

माधव नेपाललाई पनि नयाँ सत्ता गठबन्धनमा समेट्ने प्रचण्डको तयारी, ओली लचिलो



काठमाडौं,२१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई पनि समेट्ने तयारी गरेका छन् ।

नेकपा एमाले, रास्वपा र जसपासहितका दलसँग नयाँ सत्ता समिकरणको तयारी गरिरहेका प्रचण्डले सत्ता समिकरणमा एकीकृत समाजवादीलाई समेट्ने तयारी गरेका हुन् । सोमबार बिहान बसेको पार्टीको पदाधिकार बैठकमा प्रचण्डले एकीकृत समाजवादीलाई पनि सँगै लैजाने बताएका थिए । स्रोतका अनुसार नयाँ सत्ता समिकरणमा एकीकृत समाजवादीलाई समेट्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सहमति दिएका छन् ।

वामपन्थी एकताको जनअपेक्षा रहेको भन्दै एसलाई बाहिर राख्नु नहुने बुझाईमा ओली र प्रचण्ड रहेको बताईएको छ । नेकपा एसले भने यस विषयमा प्रधानमन्त्रीसँग कुनै छलफल नभएको बताएको छ ।

एकीकृत समाजवादी एमालेबाट फुटेर बनेको नयाँ पार्टी हो । एमाले फुटाएर नयाँ पार्टी बनाएका नेपालसँग एमाले अध्यक्ष केपी ओलीको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ ।

गठबन्धनमा फेरबदलसँगै आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दैछन् भने रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी लिएर सरकारमा जाँदैछन् ।



प्रतिक्रिया दिनुहोस्