Logo

रिपोर्टर्स क्लब नेपाल लुम्बिनीले मनायो छैटौं वार्षिकोत्सव



काठमाडौं, २१ फागुन । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको छैटौं वार्षिकोत्सव मनाएको छ । आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा क्लबले प्रकाशन गरेको “सत्ता र सुशासन ” स्मारिका विमोचन र चार जना पत्रकारलाई सम्मानसमेत गरिएको थियो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले सुशासन समाजमा अहिलेको आवश्यक्ता भएको बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सरेपछि चलायमान गति कम भएको उल्लेख गर्दै यसको प्रभाव हरेक क्षेत्रमा परेको उल्लेख गरे। उनले बुटवललाई ब्यवस्थित र बस्न योग्य शहर बनाउदै आर्थिक एवं सामाजिक चहलपहल बढाउनको लागि काम भैरहेको बताए।

उनले रिपोर्टर्स क्लवले प्रदेश राजधानी सरेपनी प्रादेशिक कार्यालय बुटवलमा नै राख्नु सकारात्मक कुरा रहेको भन्दै गतिविधिलाई अझै प्रभावकारी बनाउन आग्रह गरे।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबाबु कवारीले क्लवले गरिरहेका कार्यक्रमहरु निकै प्रभावकारी देखिएको बताउदै सुशासनको क्षेत्रमा काम गर्न आग्रह गरे। उनले भने क्लबले सबै क्षेत्रलाई समेटेर अगाडि बढदा साझा फोरमको रुपमा स्थापित भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुशासनयुक्त समाज निर्माण गर्नमा मिडिया क्षेत्रको भूमिका निकै रहने भन्दै क्लवका कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आग्रह गरे।

कार्यक्रममा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जिसी, राससका पूर्व केन्द्रिय अध्यक्ष एवं वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईं, लुम्बिनी प्रदेश सस्थापन सभा मञ्चका अध्यक्ष डा.कृष्ण न्यौपाने, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्कालगायतले क्लबले गरेको कामको प्रशंसा गर्दै अझ प्रभावकारी र बिश्वसनीय बन्न आग्रह गरे ।

चार पत्रकारलाई सम्मान

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले छैटौं वार्षिकोत्सबको अवसरमा चार जना पत्रकार नगदसहित सम्मानित भएका छन्।

सो अवसरमा नेपाल टेलिभिजनका हरिष ढकाल, कान्तिपुर टिभिका अमृता अनमोल, लुम्बिनी टेलिभिजनका श्याम पोखरेल र साझा टेलिभिजनका भुवन जिसीलाई सम्मान गरिएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot