
काठमाडौं,२२ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सोमबार बनेको नयाँ सत्ता गठबन्धन सामान्य नभएको टिप्पणी गरेका छन् ।
सत्तारुढ माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्दै नेकपा एमालेसँग गठबन्धन गरेको छ । जसअनुसार सानो आकारको नयाँ मन्त्रीमण्डल पनि गठन भइसकेको छ । सोही सन्दर्भमा टिप्पणी गर्दै कोइरालाले फेसबुकमा लेखेका छन्, ‘राजनीतिमा गठबन्धन वन्नु,तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन ।’
कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता कोइरालाले सत्ताका लागि जे पनि गर्न तयार रहेको दलसँग कांग्रेसले गठजामेड गर्दा महंगो सावित भएको बताएका छन् । उनले लेखेका छन् ‘कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं’ ।