Logo

यस्तो थियो गठबन्धन जोगाउने देउवाको अन्तिम प्रयास



काठमाडौं, २२ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले कांग्रेसका कारण गठबन्धन टुटेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसले प्रभावकारी कार्य सम्पादन नभएका मन्त्री फेर्न नमान्दा र राष्ट्रिय सभाको अध्यक्षका लागि आफ्नो अडान नछाड्दा अहिलेको परिस्थिति निर्माण भएको बताए ।

पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन जोगाउनका लागि मन्त्री फेर्न र राष्ट्रिय सभा अध्यक्ष पनि माओवादीलाई दिन तयार भएपनि एमालेसँग सहमति भइसकेकाले गठबन्धन अगाडि लान नसकिएको उनले बताए ।

‘त्यो कुरा भन्नलाई उहाँले दुई दिन ढिला गर्नु भएको थियो । दुई/तीन दिन पहिला उहाँहरुले त्यो कुरा गर्नु भएको थिएन । अरुसँग पनि नयाँ शिराबाट जानेबारेमा एक प्रकारले कुराकानी अगाडि बढिसकेको थियो, नयाँ सहमति बनिसकेको थियो । त्यसपछि मात्रै शेरबहादुरजीले कुराकानी गर्नु भएको थियो,’– नेता पौडेलले भने ।

कांग्रेस–माओवादीको गठबन्धनमा देउवा सहज पात्र भएपनि अहिलेको परिस्थिति निर्माण हुनुमा निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतको ठूलो हात रहेको बताए । उनले अर्थमन्त्रीकै कारण समस्या पेचिलो बन्दै गएर अन्ततः गठबन्धन टुटेको स्वीकार गरे ।

‘शेरबहादुरजी आफैं असहज पात्र हुनुहुन्थेन । तर, कतिपय मन्त्रालयहरुको काम, कार्यसम्पादन, खासगरी अर्थ मन्त्रालयसँग सम्बन्धित प्रधानमन्त्रीका कामहरु, अरु मन्त्रालयहरु पनि जोडिन्छन् । यो कुरा पेचिलो बन्दै गयो । यी कुराहरुले प्रधानमन्त्रीलाई अर्को निर्णय लिन त्यो ठाउँमा पुर्याको हो,’– उनले भने ।

गत २०७९ फागुन २५ राष्ट्रपतिको निर्वाचनबाट जोडिएको कांग्रेस–माओवादी गठबन्धन २०८० फागुन २१ मा टुटेको छ । प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर फेरि एमालेसँगको सहकार्यमा मन्त्रिपरिषद् गठन गरेका छन् ।

नयाँ गठबन्धन एक दुई वटा कुरा मिले नमिलेको आधारमा टुटेको नभएर संविधानमा उल्लेख भएको समाजवादको परिकल्पनाको दिशामा अगाडि बढ्न बनेको दाबी गरे । नेता पौडेलले माओवादीले कांग्रेसलाई धोका दिएको भन्न नमिल्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot