Logo

एमालेबाट शिक्षा मन्त्रीमा विद्या भट्टराईको चर्चा



काठमाडौं, २२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा क–कसलाई पठाउने भन्नेबारे गृहकार्य थालेका छन् ।

पहिलो चरणमा पार्टीबाट प्रमुख सचेतकको जिम्मेवारीमा रहेका पदम गिरीलाई सरकारमा पठाएका छन् । गिरीले हिजो (साँझ) नै पद तथा गोपनियताको शपथ लिइसकेका छन् ।

सरकारमा पार्टीको तर्फबाट कसले नेतृत्व गर्ने भन्नेबारे पनि बहस एमालेभित्र सुरु भएको छ । खासगरी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारमा पार्टीको नेतृत्व गर्ने चर्चा छ । एमालेले कति र कुन कुन मन्त्रालय पाउने भन्नेपनि टुँगो लागेको छैन् । त्यसको लागि नयाँ गठबन्धनमा सम्मलित चार दलका चार नेता सम्मलित कार्यदलको बैठकले टुँगो लगाउने भनिएको छ ।

कार्यदलको बैठक अहिले बालुवाटारमा जारी रहेको छ । एमालेले कुन-कुन र कति मन्त्रालय पाउने निश्चित भईसकेको छैन् । यद्यपि मन्त्री बन्ने नेताहरुको नाम भने चर्चामा आउन लागेको छ ।

एमालेले यसअघि बनेको सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले पाएको जति सबै ९ मन्त्रालय दाबी गर्ने तयारी गरेको छ । एमालेले ९ मन्त्रीालय दाबी गरेपनि सरकारमा सामेल हुने दलको संख्या यकिन भईनसकेको कारण कम्तिमा ८ मन्त्रालय र केही राज्यमन्त्री पाउने निश्चित जस्तैछ । एमालेबाट यसपटक मन्त्री बन्ने महिला नेतृहरुमा विद्या भट्टराईको नाम पनि चर्चामा आएको छ । भट्टराई दोस्रो पटक प्रतिनिधि सभामा निर्वाचित भएकी छन् ।

लामो समय विद्यार्थी राजनीति गरेर एक दशक भन्दा लामो समय शिक्षण पेशमा लागेर सेवा दिएकी भट्टराई तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पत्नी हुन् । रवीन्द्रको हेलिकप्टर दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा कास्की ३ बाट निर्वाचित भएकी थिईन् । उपनिर्वाचनमा विजयी भएपछि उनलाई मन्त्री बनाउने प्रयास भएको थियो । तर, तत्कालीन नेकपामा किचलो सुरु भएपछि उनी मन्त्री बन्ने अवसरबाट बञ्चित भएकी थिईन् ।

गत वर्ष मंसिरमा पनि पुनः ५ दलीय गठबन्धनलाई भारी मतले पराजित गर्दै सोही क्षेत्रबाट चुनाव जितेकी विद्यालाई यसपटक एमालेले शिक्षा मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको एमाले स्रोतले जनाएको छ । यद्यपि शिक्षा मन्त्रालयमा रास्वपाले पनि दाबी गरेको छ । शिक्षा नपाए अन्य कुनैपनि मन्त्रालय दिएर भएपछि भट्टराईलाई सरकारमा पठाउने तयारी भएको बुझिएको छ ।

एमालेले ८ मन्त्रालय पाएमा ५ जना पुरुष र तीान जना महिलालाई पठाउने तयारी गरेको छ । तीन जना महिला पठाउँदै योग्यता क्षमता र पार्टीमा अवसर नपाएकालाई प्राथमिकता दिने एमालेले नीति लिएको छ ।



प्रतिक्रिया दिनुहोस्