Logo

भर्खर एमालेको काँधमा चढ्नुभएका प्रचण्डलाई झार्न नैतिकताले दिँदैन: उपसभापति गुरुङ



काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका उपसभापति एवं निवर्तमान कानुनमन्त्री धनराज गुरुङले अब आफूहरु प्रमुख प्रतिपक्षीको भूमिकामा बस्ने बताएका छन् । आज (मंगलबार) पार्टीको कार्यसम्पादन समितिको बैठकबाट बाहिरने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूहरुले अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् ।

साथै, उनले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले असहयोग गरेकाले नभएर प्रचण्डको काँध फेरिरहने बानीका कारण सत्ता गठबन्धन टुटेको टिप्पाणी गरे ।

‘हामी प्रतिपक्षमा बस्छौं, रचनात्मक ढंगले अगाडि बढ्छौं । अरुको काँधमा चढ्ने र काँध फेर्ने बानी छ उहाँको । मन्त्रीहरुबाट त्यस्तो असहयोग भयोजस्तो त मलाई लाग्दैन । यो मन्त्रीको कारण भन्दा पनि यो नेपालको राजनीतिक प्रवृत्ति नै हो,’– उनले भने ।

प्रचण्डसँग कांग्रेस छोडेर एमालेको काँध चढ्न किन गएको हो ? भन्ने प्रश्नको उत्तर नभएकाले मन्त्रीहरुले असहयोग गरेको आरोप लागेको उनको दाबी छ । साथै, आफूहरुले एमालेसँग मिलेर सरकार बनाउने बारे नसोचेको समेत बताए । उनले भर्खर एमालेको काँधमा चढेका प्रचण्डलाई झारेर अर्को सरकार बनाउनु नैतिकताले नदिनेसमेत टिप्पणी गरे ।

‘त्यो भन्नका लागि मात्रै भनिएको हो । उहाँ भर्खरै एमालेको काँधमा चढ्नु भएको छ । फेरि उहाँलाई झारेर एमाले–हामी मिलौं भन्नु त त्यो नैतिकताले दिँदैन । हामी अनैतिक कार्य गर्दैनौं । प्रतिपक्षमा बसेर अगाडि बढ्छौं,’– उनले भने ।

प्रचण्डसँगको सहकार्यलाई उनले समयको मागको रुपमा लिए । उनले समयको माग बमोजिम प्रचण्डलाई काँध थापेको बताए । अब प्रचण्डलाई कांग्रेसले काँध नथाप्ने उनको भनाइ छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot