Logo

माधव नेपाललाई भेटेपछि कांग्रेसले भन्यो: छलफल सकारात्मक छ, निरन्तरता दिन्छौं



काठमाडौं,२३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अस्वस्थ भएर घरमै आराम गरिरहेका नेपाललाई भेट्न देउवा पत्नी आरजू राणासहित नेपाल निवास कोटेश्वर पुगेका थिए ।

देउवा र नेपालबीचको भेटपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले दुई पूर्व प्रधानमन्त्रीबीचको छलफल सकरात्मक रहेको बताएका छन् । उनले छलफललाई निरन्तरता दिने पनि बताएका छन् ।

‘अहिले विकसित राजनीतिक घटनाक्रम बारेमा केन्द्रित रहेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग छलफल गरिएको हो,’ लेखकले पत्रकारहरूसँग भने, ‘छलफल सकारात्मक छ, छलफललाई हामी निरन्तरता दिन्छौं।’

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सामेल गराउन एमाले र माओवादीका शीर्ष नेताहरु सक्रिय भएको बेला देउवाले नेपाललाई भेटेका हुन् । कांग्रेसले माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयासमा रहेको बुझिएको छ ।

हाल गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा गरी चार दल मात्र छन्। तर माधव नेपाललाई पनि यसमा सामेल गराउन प्रचण्ड र ओली यसअघि नै कोटेश्वर पुगेर छलफल गरिसकेका छन्।

सोमबार नै प्रधानमन्त्री प्रचण्डले पुराना सबै मन्त्रीलाई बिदा गर्दै नयाँ ३ मन्त्री नियुक्ति गरी मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन्। जसमा एमालेबाट पदम गिरी, रास्वपाबाट डीपी अर्याल र माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बनेका छन्। तर उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot