Logo

माओवादीले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौं,२३ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ ।

माओबादी केन्द्रबाट मन्त्री बनेका धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई मुख्यमन्त्री चौधरीले आज पदबाट बर्खास्त गरेका थिए । मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए। मुख्यमन्त्रीले आफ्नो पार्टीका मन्त्रीलाई बर्खास्त गर्नासाथ बसेको माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि सुदूरपश्चिम र गण्डकीबाट पनि माओवादीका मन्त्री बर्खास्त भईसकेका छन् । यी तीन वटै प्रदेशको नेतृत्व कांग्रेसले गरिरहेको छ । केन्द्रको सत्ता समीकरण बदलिएपछि प्रदेश सरकारहरु धमाधम परिवर्तन गर्ने कसरत भईरहेको छ ।

१० दल र एक स्वतन्त्र सांसद सहित ८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका ११ सांसद छन् । माओवादीले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्रीको पक्षमा बहुमत कायमै छ ।

गत वर्ष वैशाख १४ गते ८ दल र एक स्वतन्त्र सांसद गरी ५३ सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए । चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्