काठमाडौं, २३ फागुन । नेपाल पूर्वप्रहरी संगठनले प्रहरी कल्याणकारी कोषले पूर्व प्रहरीहरुको कल्याणका लागि एकदमै कम रकम दिने गरेको भन्दै असन्तुष्टि जनाएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पूर्वप्रहरी संगठनले प्रहरी कल्याण कोषमा पूर्व प्रहरीहरुको ६० प्रतिशतभन्दा बढी योगदान हुँदाहुदै पनि पूर्व प्रहरीहरुको कल्याणमा न्यून रकम मात्र छुट्याई ठूलो रकम हिनामिना भइरहेको बताएको हो ।
‘मूल धनसमेत मासेर कमिसनका लागि ट्याङ्क, जमिन, उपकरण आदि किन्ने र पेट्रोल पम्पहरु लगाई कोषको दुरुपयोग गर्ने काम भएको छ भन्ने बाहिर चर्चा रहेको छ जसको एक उदाहरण पूर्व प्र.म.नि. तथा कोषका संरक्षक ओमबिक्रम राणालाई अदालतबाटै कल्याणकोषको दुरुपयोग बापत जेल सजाय भएबाटै पनि प्रमाणित भएको छ,’– पूर्वप्रहरी संगठनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रहरी कल्याण कोषबाट मूल धन नमासी सो कोषको व्याजबाट मात्रै कल्याणका कामहरु गर्नुपर्नेमा मूल धनबाटै जथाभाबी र बद्नियतपूर्वक लगानी हुन थालेको पूर्व प्रहरी संगठनको निश्कर्ष छ । भूतपूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष वसन्तराज कुँबरले कल्याणकारी कोषमा नेपाली सेनाको ७६ अर्ब, सशस्त्रको ४ अर्बभन्दा माथि हुँदा ३२ वर्षमा नेपाल प्रहरीको ४ अर्बमात्र हुनुले भ्रष्टाचार र अपचलनको आशंका गर्ने ठाउँ प्रशस्त रहेको बताए ।
नेपाल प्रहरीको कल्याणकारी कोषले पूर्व प्रहरीहरुका लागि थोरै रकम छुट्याउँदा स्वास्थ्य सेवामा असर परेको उनको भनाइ छ । ‘यो समस्या कहाँबाट आयो भने पूर्व प्रहरीहरुले आफ्नो अस्पतालमा पैसा तिर्नुपर्यो । पूर्व प्रहरीहरु ४५ हजारजति पेन्सन खाने छन् । अरु २० हजार बीचमै छाडेका छन् । पूर्व प्रहरीहरुलाई उपचारमा किन पैसा तिर्नुपर्यो त भन्दा त्यहाँ कल्याण कोषबाट २ करोडमात्रै दिएको रहेछ,’– उनले भने ।
उनले प्रहरीको उक्त प्रकरणलाई ललिता निवासजस्तै अर्को प्रकरणको संज्ञा दिए । आफूहरुले कोषको उक्त पैसा के–कसो हो छानविन गरौंभन्दा छानविन समिति गठन गर्नसमेत कोही तयार नभएको बताए । आफूहरुले पटक–पटक पूर्वप्रहरीहरुको हकमा कल्याण कोषबाट न्यायोचित बितरण गरियोस् भनी प्रहरी प्रधान कार्यालयमा पत्राचार गर्दापनि मागहरु सम्बोधन नभएको उनले बताए । आफ्ना वर्गमाथि प्रहरी कल्याणकोष व्यवस्थापन सञ्चालक समितिले घोर अन्याय गरेको पूर्व प्रहरी संगठनको ठहर छ ।
आफूहरुले आजकै मिति बाट “प्रहरी कल्याण कोषको न्यायोचित बितरण गर’’ भन्ने नारासहित देशव्यापी आन्दोलन र विरोध कार्यक्रम अघि बढाएको अध्यक्ष कुँबरले बताए । पूर्व प्रहरी संगठनले देशका सबै जिल्ला प्रशासन कार्यलाय र अन्य कार्यालयमार्फत प्रहरी महानिरीक्षकलाई ६ बुँदे माग पेश गर्न लागेको उनले बताए ।