Logo

गगनको धम्की, ‘अब के गर्नुपर्छ हामीलाई राम्रोसँग थाहा छ’



काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माओवादीले गठबन्धन भत्काएसँगै आफूहरु बन्धनबाट मुक्त भएको टिप्पणी गरेका छन् । अब कांग्रेसका निम्ति पनि विविध विकल्पहरु रहेको उनको भनाइ छ । उनले संसद्मा कसैको पनि बहुमत नभएको अवस्थामा के गर्नुपर्छ आफूहरुलाई राम्रो ज्ञान रहेको बताएका छन् ।

‘माओवादीले गठबन्धन भत्काएपछि हामी बन्धनबाट मुक्त भएका छौं । हाम्रा निम्ति पनि सबै प्रकारका विकल्प पनि जायज भएका छन् । संसद्मा कसैको पनि बहुमत नपुगेको, कुनै एउटा दलले मात्रै बहुमत पुर्याउन सक्ने अवस्था नरहेको परिस्थितिमा कांग्रेसले के गर्न सक्छ, के गर्न पर्छ र के गर्न हुन्छ भन्नेतर्फ हामीहरु सचेत छौं । जे गर्नुपर्ने हामी गर्छौं,’– एक भिडिओ सन्देश सार्वजनिक गर्दै उनले भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले जहिले पनि राजनीतिलाई फोहोर बनाइराखेको, जहिले पनि च्याँखे थापेको उनको आरोप छ । उनले प्रधानमन्त्री प्रचण्डलाई उपयुक्त समयमा उपयुक्त शक्तिसँग मिलेर ठेगान लगाउने बताए ।

‘हाम्रो राजनीतिलाई निरन्तर अस्थिर बनाइराख्ने, जहिले च्याँखे थापिराख्ने, जहिले फोहोर बनाइराख्ने, यो शक्तिलाई अब ठीक ठाउँमा पुर्याउन पर्छ । यसका निम्ति उपयुक्त समयमा उपयुक्त शक्तिसँग कसरी संवाद गर्ने भन्नेतिर हामीहरु सचेत छौं, काम पनि गरिरहेका छौं,’– उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्