Logo

‘दुर्गम डोल्पा’बाट संघीय निर्वाचनमा ह्याट्रिक गरेका बुढालाई ‘सुगम’को जिम्मा



काठमाडौं,२४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार बनेको नयाँ सत्ता गठबन्धनका दलहरुलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

सोमबार बिना विभागीय तीन मन्त्री नियुक्त गरेका प्रचण्डले बुधबार थप १६ जना मन्त्री थप्दै मन्त्रिपरिषद् २० सदस्यीय पुर्याएका छन् ।

२० सदस्यीय मन्त्रिपरिषद्मा सहरी विकास मन्त्रालयको जिम्मा एकीकृत समाजवादीले पाएको छ । आफूले पाएको सहरी विकास मन्त्रालयमा एकीकृत समाजवादीले डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई पठाएको छ ।

स्रोत, साधन, सुगमता र भौगोलिक हिसावमा देशकै सबैभन्दा दुर्गम मानिने डोल्पाबाट संघीय निर्वाचनमा बुढाले लगातार तेस्रो पटक निर्वाचन जितेका हुन् ।

गत वर्षको मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाल नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) को तर्फबाट बुढा डोल्पा क्षेत्र नं १ बाट ११,२२५ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार गणेश बहादुर शाहीले ५,४९८मत प्राप्त गरेका थिए।

संघीय निर्वाचनमा लगातार तीन पटक निर्वाचन जितेका बुढा तत्कालीन नेकपा नेतृत्वको सरकारमा २ वर्ष पर्यटन राज्यमन्त्री बनेका थिए । ‘क’ वर्गको निर्माण कम्पनी बुद्ध हिमाली निर्माण सेवाका सञ्चालक रहेका बुढा नामुद ठेकेदारसमेत हुन् । उनको कम्पनीले वन निर्माण, सडक, पुल, विमानस्थल, पार्क, हाइड्रोपावर, सिँचाइ, खानेपानी पूर्वाधार र ढल निकाससहित विभिन्न शहरी तथा ग्रामीण पूर्वाधार निर्माणको काम गर्छ ।

लामो समय व्यापार व्यवसायमा सक्रिय रहेका उनी ०५५ सालपछि मात्र राजनीतिमा लागेका हुन् । ०७० सालको दोस्रो संविधान सभा निर्वाचन र ०७४ को प्रतिनिधि सभा निर्वाचन नेकपा एमालेबाट जितेका उनी एमाले विभाजन हुँद्या एकीकृत समाजवादीतिर लागेका थिए ।

०५५ सालबाट मात्रै राजनीतिमा लागेपनि बुढा ०६० र ०६२ मा दुई कार्यकाल जिविस डोल्पाको नेतृत्वमा पुगेका थिए । जिविसको नेतृत्व लिएपछि उनको राजनीतिले ह्वातै उचाई लिएको उनका निकटस्थहरु बताउँछन् । ०७४ सालको निर्वाचनमा प्युठानबाट एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतम पराजित भएपछि बुढालाई राजीनामा गराएर उनको स्थानमा चुनाव लड्न गौतमले जोडबल गरेपछि उनी चर्चामा आएका थिए । गौतमलाई डोल्पा लगेर चुनाव लडाउन आफू त्याग गर्न तयार रहेको बताउँदै हिँडेका बुढालाई त्योबेला तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनबाट रोकेका थिए ।

दुर्गम डोल्पाबाट राजनीति गरेर संघीय निर्वाचनमा ह्याट्रिक गरेका बुढाले सुगम मन्त्रालयको जिम्मेवारी पाएका छन् । विकासे मन्त्रालय र पैसावाल मन्त्रालयको रुपमा परिचित शहरी विकास मन्त्रालय मुलुकको भवन निर्माण, सडक संरचना, शहरी तथा ग्रामीण पूर्वाधार लगायतका निर्माणसँग सरोकार राख्ने मन्त्रालय हो । शहरी विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय पूर्वाधार विभाग, काठमाडौं उपप्तका विकास प्राधिकरण, बाग्मती सभ्यता एकीकृत विकास समिति जस्ता निकायहरु पूर्वाधारकै काम गर्छन् ।



प्रतिक्रिया दिनुहोस्