काठमाडौं,२४ फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतको अपमान गरेको आरोप लगाएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लेखकले गत वर्ष बनेको ७ दलीय गठबन्धन तोड्दा प्रचण्डले कांग्रेसको विश्वास र नागरिकको जनमतमाथि अममान भएको बताएका हुन् । गत सोमबार प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन तोड्दै नेकपा एमालेसहितको नयाँ ५ दलीय गठबन्धन बनाएका थिए । सोमबार बनेको नयाँ गठबन्धनलाई समेटेर प्रचण्डले मंगलबार नै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
‘निर्वाचनमा प्रतिवद्धता गरेर अहिले गठबन्धन भत्काउनु जनमतको पनि घोर अपमान हो’, उनले भने, ‘आफ्नो जिम्मेवारीबाट भाग्ने गठबन्धन भत्काउने जुन अविश्वसनीय काम गरियो । यसलाई कठोरतापूर्वक भन्नैपर्यो यो राजनीतिक बेइमानी हो ।’
व्यक्तिगत रुपमा आफूले प्रचण्डलाई आदर गर्ने भन्दै प्रमुख सचेतक लेखकले तर उनमा राजनीतिक इमान नदेखिएको बताए ।
आपसी छलफलबाट समाधान हुन सक्ने विषयलाई पनि प्रधानमन्त्री प्रचण्डले अतिरञ्जित किसिमले बढाएर, चढाएर आफ्नो कमजोरी एक दुई जना मन्त्रीको टाउकोमा हाल्ने काम गरेको उनले बताए ।
‘यी कारणले कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक र संसदीय समितिको बैठकबाट समर्थन फिर्ताको निर्णय लिएको हो’, उनले भने ।