Logo

प्रचण्डलाई पद त्याग्न आग्रह गर्दै कांग्रेसले भन्यो: तपाईको उथलपुथल कति दिन रहन्छ हेरौंला



काठमाडौं,२४ फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद त्याग गर्नुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै लेखकले आफूसँग सहकार्य गरेका दलका मन्त्रीलाई पदच्यूत गर्दा आफूले पनि नैतिकता लिनुपर्ने भन्दै उनले प्रचण्डको राजीनामा मागेका हुन् ।

उनले भने तपाईँले भन्नुभएको जस्तो काम गर्न सकेन गठबन्धन फेर्नुपर्थ्यो त्यहाँसम्म ठिक। तर जाँदा सबै जानुपर्थ्यो नि। अरू सबै बेठिक म मात्रै ठिक भन्दा नेपाली जनताले के मूल्याङ्कन गर्छन् ?यसो भन्दा कांग्रेसले लोभ गर्यो भन्लान् तर, तपाईँहरूले दिनुहुन्न कांग्रेसलाई लोभ छैन। तर, बगलमा पाएको पार्टनरलाई दिनुस् न त ल। तपाईँले सक्नुभएन भने सबै जानुपर्‍यो नि।

बैठकमा लेखकले केही दिनअघि प्रचण्डले आफू बाचुञ्जेलसम्म देशमा उथलपुथल हुने बताएको उल्लेख गर्दै प्रचण्डको उथलपुथल धेरै दिन नटिक्ने चेतावनी दिए । ‘तपाई मभन्दा बढ्ता देशलाई चाहिने नेता हो। जहाँसम्म उथलपुथलको कुरा गर्नुभएको छ नि, सबै मान्छेले सबै कुरा बुझिरहेका छन्। यो उथलपुथल कति दिन रहन्छ इतिहासले देखाउला,’ उनले भने।

लेखकले गत वर्ष बनेको ७ दलीय गठबन्धन तोड्दा प्रचण्डले कांग्रेसको विश्वास र नागरिकको जनमतमाथि अममान भएको बताएका हुन् । गत सोमबार प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन तोड्दै नेकपा एमालेसहितको नयाँ ५ दलीय गठबन्धन बनाएका थिए । सोमबार बनेको नयाँ गठबन्धनलाई समेटेर प्रचण्डले मंगलबार नै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

‘निर्वाचनमा प्रतिवद्धता गरेर अहिले गठबन्धन भत्काउनु जनमतको पनि घोर अपमान हो’, उनले भने, ‘आफ्नो जिम्मेवारीबाट भाग्ने गठबन्धन भत्काउने जुन अविश्वसनीय काम गरियो । यसलाई कठोरतापूर्वक भन्नैपर्‍यो यो राजनीतिक बेइमानी हो ।’

व्यक्तिगत रुपमा आफूले प्रचण्डलाई आदर गर्ने भन्दै प्रमुख सचेतक लेखकले तर उनमा राजनीतिक इमान नदेखिएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot