Logo

संसद्मा एमालेको व्यंग्य: यो तहको पीडा, छट्पटी र बेचैनी कांग्रेसले व्यक्त गर्न आवश्यक थिएन



काठमाडौं,२४ फागुन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ताबाट च्युत भएको नेपाली कांग्रेसमा निक्कै बेचैनी र छटपटी देखिएको भन्दै व्यंग्य गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले सो बताएका हुन् । उनले आगामी निर्वाचनमा अहिलेको जस्तो परिदृश्य नदेखिने पनि जिकिर गरे । एमालेले मिसन ०८४ भन्दै आउँदो निर्वाचनमा एकल बहुमत ल्याएर सरकार बनाउने बताउँदै आएको छ । पौडेलले त्यहीतर्फ संकेत गरेका हुन् ।

‘कांग्रेसमा यो तहको पीडा, छटपटी, बेचैनी कांग्रेसले व्यक्त गर्न आवश्यक थिएन,’ उनले भने । दलहरुका बिचमा सहकार्य हुन्छ, दलहरु मिलेर सरकार निर्माण र सञ्चालन गर्छन् भनेर संविधानले नै प्रबन्ध गरेको उनले बताए ।

पौडेलले ‘एउटा नेतामा यति पीडा छ भने सिंगो कांग्रेसीमा कति होला ?’ भन्दै कटाक्ष गरे । “३८ मिनेटमा त्यो तहको पीडा भयो होला, एउटा नेताको मनमा यति पीडा छ भने कांग्रेसको मनमा कति पीडा होला ?,” उनले भने ।

परक प्रसंगमा पौडेलले नेपाली कांग्रेसले संसद्को अंकगणीतलाई निर्वाचन प्रणालीसँग तुलना गरेकोतर्फ जवाफ दिँदै निर्वाचन प्रणालीमा कुनैपनि दोष नरहेको जिकिर गरे । ‘कहिल्यै पनि, कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘०८४ को निर्वाचनमा यस्तै परिदृश्य दोहोरिने छैनन् । जनताको विश्वास जित्न सक्ने दलहरुले मात्र बहुमत आर्जन गर्न सक्छन् ’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot