Logo

राष्ट्रिय सभा अध्यक्ष झक्कु कि उर्मिला ?



काठमाडौं,२४ फागुन । राष्ट्रिय सभाको रिक्त अध्यक्षका लागि आगामी २९ गते निर्वाचन हुँदैछ । ६ वर्षे कार्यकाल पूरा गरेर गणेशप्रसाद तिमिल्सिना गत २० फागुनमा बिदा भएपछि हाल अध्यक्ष पद रिक्त रहेको छ ।

२० गतेबाट रिक्त रहेको सो पदमा २९ गते निर्वाचन हुन लागेको हो । हाल राष्ट्रिय सभाको सञ्चालन उपाध्यक्ष उर्मिला अर्यालले गरिरहेकी छन् । सत्ता गठबन्धनमा बनेको नयाँ सहमित अनुसार अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको छ भेन उपाध्यक्ष नेकपा एमालेले पाउनेछ ।

हाल उपाध्यक्ष रहेकी अर्याल माओवादी केन्द्रबाट निर्वाचित हुन् । १२ माघ २०७८ मा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित अर्याल २३ माघ २०७९ मा उपाध्यक्षमा सर्वसम्मत चयन भएकी थिइन् ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ दल माओवादीमा उम्मेदवार बन्ने सदस्यको दौडधुप बढ्दो रहेको छ । हालसम्म माओवादीबाट हालकी उपाध्यक्ष अर्याल प्रमुख दाबेदार हुन । उनीसहित लुम्बिनी प्रदेशबाट गत माघ ११ गते निर्वाचत झक्कुप्रसाद सुवेदीले पनि दाबी गरिरहेका छन् ।

सुवेदी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–२ मा तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गरेर चर्चामा आएका थिए । यसपटक उनी राष्ट्रिय सभामा आएका हुन् ।

सुवेदीलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन लविङ गरेका नेताहरुले उर्मिला अर्याललाई मन्त्री बन्न प्रस्ताव राखेका छन् । माओवादीले अध्यक्ष लिँदा उपाध्यक्ष छाड्नुपर्छ । राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमा फरकरफरक दलको हुनुपर्छ ।

यसअघि संघीय मन्त्री बनेकी अर्याल एमाले पृष्ठभूमिकी नेतृ हुन् । अर्याललाई पुनः मन्त्री बनाएर झक्कुलाई अध्यक्ष बनाउन माओवादीको एक समूह लागि परेको थियो । तर, अर्यालले मन्त्री बन्न नमानेको स्रोतको दाबी छ ।

यता तत्कालीन एमालेका शक्तिशाली नेता माधव नेपाललाई काठमाडौंबाट पहिलो संविधान सभा निर्वाचनमा धुलो चटाएका झक्कुपनि सशक्त दाबेदारको रुपमा रहेका छन् । माओवादीका दोस्रो तहका नेताहरु उनलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छन् । राष्ट्रिय सभामा ६ वर्षको लागि हालै निर्वाचित भएका उनी अध्यक्ष बनेमा एमालेले महिलालाई उपाध्यक्ष बनाउनु पर्नेछ ।

झक्कु र उर्मिलाबीच हानाथाप हुँदा गत वर्ष सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका नारायण दाहालले पनि आफ्नो पक्षमा लविङ बढाउँदै लगेका छन् । उनी वर्तमान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सहोदर भाई हुन् । झक्कु र उर्मिलाबीचको हानाथापमा छिरेर अध्यक्ष बन्ने उनको दाउलाई प्रचण्ड निकटका केही नेताले साथ दिएको माओवादी निकट स्रोतको दाबी छ ।

त्यसो त माओवादीमा गंगा बेल्वासे र सुरेश आलेमगर पनि अध्यक्षका दाबेदार हुन् । बेल्वासे पूर्व शिक्षामन्त्री स्व: धनीराम पौडेल (डीआर) की श्रीमती हुन् । उनलाई माओवादीले ०७८ मा बागमती प्रदेशको महिला कलस्टरबाट राष्ट्रिय सभामा ल्याएको थियो ।

उपाध्यक्ष को ?

सत्ता गठबन्धनमा भएको ८ बुँदे सहमति अनुसार एमालेले उपाध्यक्ष पाउनेछ । राष्ट्रिय सभामा १० सांसद रहेको एमालेले अध्यक्षको निर्वाचन पछि उपाध्यक्षको टुंगो लगाउनेछ । माओवादीले पुरुषलाई अध्यक्ष बनाएमा एमालेले महिलालाई उपाध्यक्ष बनाउनुपर्नेछ । एमालेबाट विमला घिमिरे र गोपाल भट्टराई प्रमुख दाबेदार हुन् । भट्टराई र घिमिरेको अतिरिक्त हालै निर्वाचित रुक्मिणी कोइराला पनि विकल्पको रुपमा रहेको बताईन्छ ।

कोशी प्रदेशबाट सत्ता गठबन्धनमा उलटफेर ल्याउँदै निर्वाचित कोइरालालाई उपाध्यक्ष बनाउनेबारे एमाले नेताहरुले पनि लविङ थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्