काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन तोडेपछि आफूहरु बन्धनबाट मुक्त भएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले गठबन्धन टुटेसँगै कांग्रेससँग सबै प्रकारका सम्भावनाको ढोका खुलेको बताए । कांग्रेसले उपयुक्त समयमा उपयुक्त निर्णय लिने उनको भनाइ छ । ‘माओवादीले भत्काएपछि सबैखाले सम्भावनाका निम्ति ढोका त खुल्यो,’– उनले भने ।
साथै,मिश्रित निर्वाचन प्रणालीको फाइदा उठाएर प्रधानमन्त्री प्रचण्डले च्याँखे थापेर ठूला दललाई तर्साएको बताए । उनले यसरी च्याँखे थापेर ठूला दललाई तर्साउनेलाई ठीक ठाउँमा ल्याउने बेला आएको उनको टिप्पणी छ ।
‘मिश्रित निर्वाचन प्रणालीको नाममा ठूला दलहरुलाई तर्साएर, च्याँखे थापेर खान पल्केकाहरुलाई ठीक ठाउँमा ल्याउने बेला आयो । यसलाई तर्साएर, कहिले उसलाई तर्साएर, कहिले यताको खाइदिउँ भनेको छ, कहिले उताको खाइदिउँ भनेको छ । यो तसाई तर्साई खानेहरुलाई अब तर्साउने दोकान पनि बन्द गर्दिन पर्छ,’– उनले भने ।
साथै, विवादित मन्त्रीहरुका बारेमा प्रतिपक्षमा हुँदा एमालेले उठाएको प्रश्नको चित्तबुझ्दो जवाफ नआएको उनको भनाइ छ । एमाले प्रश्नमात्रै उठाएर छाडेको भन्दै महामन्त्री थापाले अब ती प्रश्नको जवाफ खोज्ने बताए । File Photo/RN