Logo

गठबन्धन उलटफेरबारे एमाले: जनताको निराशालाई आशामा बदल्न प्रचण्डसँग सहकार्य गर्‍यौं



काठमाडौं,२५ फागुन । नेकपा एमालेले सोमबार बनेको सत्ता गठबन्धनलाई सामान्य रुपमा लिएको जनाएको छ । शुक्रबार बसेको पार्टीको २६ औं सचिवालय बैठकले सो निष्कर्ष निकालेको एमाले महासचिव शंकर पोखरेलले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले जनतामा देखिएको चरम निराशालाई आशामा बदल्नका लागि गठबन्धन बदलिएको प्रष्ट पारे । सोमबार यसअघिको १० दलीय गठबन्धन भत्काएर एमालेसहितको ५ दलीय गठबन्धन बनेको छ । ५ दलीय गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी सहभागी रहेका छन् ।

‘त्यसलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको छ । मुलुकमा सिर्जना भएको संकटलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले हामीले सकारात्मक योगदान गर्नुपर्दछ भन्ने निष्कर्षमा छ,’ उनी भन्छन् ।

जनताको निराशालाई आशमा बदलेर विकास र समृद्धिका कामलाई तीव्रता दिन नयाँ सहकार्य फलदायी हुने एमालेको भनाइ छ । ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी सामेल भएर सरकार निर्माण गर्ने प्रक्रियामा अगाडि बढेका छौँ,’ उनले भने, ‘यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई पनि अनुरोध गरेको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot