Logo

द्वन्द्वकालमा एपीएफ गठन भएझैं अब डेभलपमेन्ट फोर्स आवश्यक छः रक्षामन्त्री उप्रेती



काठमाडौं, २६ फागुन । रक्षामन्त्री हरि उप्रेतीले विकास निर्माण र समृद्धिका लागि सेनालाई अधिकतम् प्रयोग गरिनुपर्ने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले द्वन्द्वकालमा एपीएफ फोर्स गठन गरिएजस्तै अब डेभलपमेन्ट फोर्स गठन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘हिजो द्वन्द्वकालमा एपीएफ गठन गरियो, शान्ति कायम गर्नका निम्ति । अब हामीलाई समृद्धिको खाँचो छ । डेभलपमेन्ट फोर्स विकास गरौं न । विकासका लागि नेपाली सेना सकृय हुन पर्यो,’– उनले भने ।

त्यसैगरी कुनै पनि उद्योगहरुलाई जीर्ण बनाउन नहुने र निजीकरणको नाममा जथाभावी बेचिन बन्द हुनुपर्ने उनको भनाइ छ । मेडिन नेपाल लेख्ने उद्योगहरु सञ्चालनमा ल्याउन सेनाले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । नेपाली उत्पादनमा वृद्धि गर्न सके यही रोजगारी सिर्जना गर्न सकिने उनले बताए । यसो गर्न सकिए विदेशिएका धेरै युवाहरु आशा र सम्भावनाका साथ नेपाल फर्किने उनको भनाइ छ ।

साथै, सेना संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको रहन पर्छ भन्ने आफ्नो मान्यता रहेको बताए । आफू दलीय रुपमा मन्त्री बनेपनि सेनाले कुनै दलको पक्ष/विपक्ष लिन नहुने उनको भनाइ छ ।

साथै, सेनालाई उच्च मनोवलका साथ अगाडि बढाउने काममा आफू निरन्तर लागिरहने उनको भनाइ छ । नेपाली सेनामा रहेका सबैमा राष्ट्रिय भाव उच्च रहेको उनले बताए । अहिले वौद्धिक शक्तिहरु बाहिरिएको बेला नेपाली सेना आफ्नो कर्तव्यप्रति निष्ठाका साथ काम गरिरहेको बताए ।

साथै, नेपालका सैनिक शासन नआउने उनको भनाइ छ । नेपाली सेना शासन सत्ता हातमा लिने भन्दा पनि देश र जनताको सर्वोत्तम हितमा काम गरिरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot