काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितीका बारेमा संसदीय दललाई जानकारी गराएका छन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पार्नुभएको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकमा प्रचण्डले प्रतिनिधि सभाको पछिल्लो अवस्थाबारे प्रतिनिधि सभाका मुख्य सचेतक पाण्डे र राष्ट्रिय सभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराएका थिए ।
त्यसैगरी, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा विश्वासको मतको विषयमा सहभागी सदस्यले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उम्मेदवारको विषयमा पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने र विश्वासको मत कहिले लिने भन्ने विषयमा सहयात्री दलसँग छलफल गरेर निर्णय लिइने जानकारी गराए ।