काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता कृष्णभक्त पोखरेलले संविधानमा तीन खम्बे अर्थ नीति भनेर सहकारीलाई स्थान दिइएपनि नियमण प्रणाली कमजोर हुँदा समस्या पैदा भएको बताएका छन् ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिन आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले सहकारीमा देखा परेका समस्या समाधानको पहल सुरु गर्ने बताएका हुन् । साथै, सहकारी समस्याबारे छानविन गर्न सरकारले खुट्टा नकमाउने उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै उनले वर्तमान सरकारको मन्त्रिमण्डलमा रहेकादेखि जोकोही दोषी भएपनि कारबाहीको दायरामा ल्याउन अहिलेको सरकार लाग्ने बताए । ‘यसमा विभिन्न तहका नेताहरुको पनि हामी कुरा सुनिरहेका छौं । प्रहरीले यसमा अनुसन्धान गरेको छ । अनुसन्धान अधिकारीहरुले यसमा गम्भीरतापूर्वक छानविन गरेका छन् । यो सरकारले खुट्टा कमाउने छैन ।’ उनले भने, ‘यो मन्त्रिमण्डलमा रहेका हुन् वा जोसुकै पनि दोषी छन् भने त्यसलाई कारबाहीको दायरामा ल्याउन अहिलेको सरकार लाग्नेछ ।’