काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भ्टटराई आजबाट न्याय परिषद्को सदस्य हुने भएका छन् ।
यसअघि सदस्य रहेका डा इश्वरप्रसाद खतिवडाले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि वरिष्ठतम् न्यायाधीशको रुपमा भट्टराईले न्याय परिषद्को सदस्यको रुपमा काम गर्न लागेका हु् ।
नेपालको संविधानको धारा १५३ बमोजिम सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश न्याय परिषद्को पदेन सदस्य रहने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था बमोजिम भट्टराई आइतबारबाट न्याय परिषद्को सदस्य बनेका हुन् ।
न्याय परिषद्को अध्यक्ष प्रधानन्यायाधीश रहने व्यवस्था छ भने कानुन मन्त्री, सर्वोच्च अदालतको वरिष्ठतम् सदस्य, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त कानुनविद् र नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक कानुन व्यवसायी सदस्य रहने व्यवस्था छ ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीश सिफारिस, उच्च र जिल्ला अदालतमा न्यायाधीशको नियुक्ति, न्यायाधीश तथा कानुन सेवाका उच्च पदस्थ कर्मचारीको सरुवा तथा कारबाही लगायतका विषयमा कामकाज गर्ने गर्दछ ।