Logo

८४ को चुनावमा गोरखा-२ मा प्रचण्डलाई बाबुरामले चुनौती दिने



काठमाडौं,फागुन २७ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले २०८४ मा हुने चुनावमा आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ बाटै लड्ने भएका छन् ।

गोरखा २ का मतदाताहरूसँग वृहत् छलफल गरेपछि आएको सुझावलाई ग्रहण गर्दै भट्टराईले गोरखा–२ बाटै चुनाव लड्ने तयारी थालेको नेसपाका केन्द्रीय सदस्य तथा भट्टराईका निकट सहयोगी विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘नेसपा अध्यक्ष भट्टराई केहीअघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा– २ का मतदातासँग उहाँको वृहत् छलफल भएको थियो,’ उनले फेसबूकमा लेखेका छन्, ‘सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ । अब उहाँ २०८४ को निर्वाचनमा गोरखा–२ मा उम्मेदवार हुनु हुनेछ ।’

गोरखा–२ भट्टराईको चुनावी क्षेत्र हो । तर गत आम निर्वाचनमा भने भट्टराईले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि त्यो क्षेत्र छोडेका थिए । उनी भने कतै उम्मेदवार बनेका थिएनन् ।

तर, गत सोमबार एकाएक प्रचण्डले सत्ता गठबन्धन बदलेपछि भट्टराई रुष्ट बनेका छन् । उनले प्रचण्डले सत्ता गठबन्धन बदलेपछि माओवादीको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका आफ्नो पार्टीका प्रतिनिधि सभाका २ सांसदलाई आफ्नै दलको बनाईदिन संसद सचिवालयलाई पत्रसमेत लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्