Logo

तामाकोशी गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष उर्मिला खड्कासहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं,२७ फागुन । दोलखाको तामाकोशी गाउँपालिकाकी पूर्व उपाध्यक्ष उर्मिला खड्का केसीसहित १२ जनाविरु४ भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, तत्कालीन लेखा अधिकृत विजय लुईटेल, योजना शाखाका तत्कालीन लेखापाल राम बहादुर कार्की, तत्कालीन इन्जिनियर सुबोध कुमार चापागाई र तत्कालीन सबइन्जिनियर सृजना दुवाललगायत विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

तामाकोसी–३,जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न गठित उपभोक्ता समिति, अनुगमन समिति, वडाध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्साअनुसारको काम नहुँदा पनि गैरकानुनी तवरबाट बजेट निकासा भएको सूचना पाएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

उनीहरूले अनियमितता गरी सरकारलाई गैरकानुनी हानि पुर्‍याउने कार्य गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

लागत अनुमान डिजाइनसमेत संशोधन नगरी निर्माण कार्यको आकार वा रूप परिवर्तन गर्ने तथा निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण गरेको निर्माण कार्यको भुक्तानीको लागि नापी किताब, उपभोक्तासम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदन, गोश्वारा भौचर, टिप्पणी पेश गर्ने कार्य गरी भुक्तानी दिन नमिल्ने रकम १२ लाख ८९ हजार ३२० भुक्तानी दिने कार्य गरी भ्रष्टाचार गरेको आयोगका सहसचिव एवं प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उपाध्यक्ष खड्का ०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot