Logo

आर्थिक वर्षको पछिल्लो सात महिनामा ७ दशमलव १ प्रतिशतले घट्यो निर्यात



काठमाडौं, २७ फागुन । आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु निर्यात ७ दशमलव १ प्रतिशतले घटेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा उक्त अवधिमा निर्यात ८६ अर्ब ८३ करोड कायम भएको उल्लेख छ ।

अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा २९ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११.३ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ३३८.८ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, चिया, ऊनी गलैचा लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु आयात २.३ प्रतिशतले कमी आई ८९७ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.९ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २३.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३८.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, सवारी साधान तथा स्पेयर पार्टपुर्जा, हवाइजहाज स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, धान तथा चामल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले कमी आई ८११ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ८८ अर्ब १८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७१ अर्ब ७८ करोड बराबरको भएको थियो ।



प्रतिक्रिया दिनुहोस्