Logo

कांग्रेसलाई धोका दिँदा पनि गगन प्रचण्डसँग खुसी



काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुर्सी सरकार बन्नुभन्दा पहिलादेखि नै हल्लिरहेको टिप्पणी गरेका छन् । आज (आइतबार) ललितपुरको गोदावरी नगरपालिकाको ८औं स्थापना दिवसको अवसरमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डमा पदबाट हट्नुपर्ने डर ब्यापक रहेको बताएका हुन् । आफू कतिबेला कुर्सीबाट धकेलिने हो र लड्छु भन्ने भयमा प्रधानमन्त्री प्रचण्डमा रहेको उनको भनाइ छ ।

‘अहिले बनेका प्रधानमन्त्रीको बन्नुभन्दा पहिलेदेखि नै कुर्सी हल्लिएको छ । कतिखेर म यहाँबाट धकेलिने हुँ, कतिखेर म लड्ने हुँ भन्ने डरले, त्यस्तो डराएको प्रधानमन्त्रीले युद्धस्तरमा कसरी काम गर्छ ? डर हाम्रो राजनीति हामीले विकृत बनाएको कारणले भएको हो,’– उनले भने ।

देश र जनताको पक्षमा युद्धस्तरमा काम गर्नुपर्ने बेला सरकार बनाउने र भत्काउने खेलमा समय खेर गइरहेको र नेपालीहरुले अवसर गुमाउन परेको उनको भनाइ छ । उनले राजनीतिलाई अहिलेको भन्दा बढी सुद्ध र परिणाममुखी बनाउन नसकेको खण्डमा नेपाली जनताको समय खेर गइरहने बताए ।

अहिलेको नेपालको राजनीति फोहोर बनेको उनले बताए । प्रधानमन्त्री प्रचण्डतर्फ लक्षित गर्दै उनले कांग्रेस, एमाले सबैले धोका खाइसकेपछि अब एक ठाउँमा आएर छलफल गर्नुपर्ने ठाउँमा आइपुगेको आफूले अनुभूत गरेको उनले बताए । प्रचण्डले कांग्रेस, एमालेलाई धोका दिएबाट अब राजनीतिक फोहोर सफा गर्नुपर्ने बेला भएको सन्देश आफूले पाएको बताए । साथै, कांग्रेस–एमालेले पाएको धोकाबाट आफू आशावादी बनेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्